सैनिक परेडमा सि, पुटिन, किम र ओली
आगामी बुधबार चीनको राजधानी बेइजिङस्थित थिआनमन स्क्वायरमा आयोजना गर्न लागिएको भव्य सैन्य परेडमा विश्वका धेरै देशका नेताको उपस्थिति रहने भएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणामा २६ मुलुकका शीर्ष नेता विजय दिवस समारोहमा सहभागी हुने जनाइएको छ ।
चिनियाँ सहायक विदेशमन्त्री होङ लेईलाई उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ, ‘समारोहमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन,उत्तर कोरियाली नेता किम जोङ उन, क्याम्बोडियाका राजा नरोदम सिहामोनी,भियतनामी राष्ट्रपति लुंग कुइङ,लाओसका राष्ट्रपति तथा लाओस कम्युनिस्ट पार्टीका महासचिव थोङलोन सिसौलिथ, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तो र मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिम सहभागी हुने निश्चित छ ।’ त्यसैगरी मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेलसुख,पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली,माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, कजाखस्तानका राष्ट्रपति कसिम–जोमार्त तोकायेभ, उज्बेकिस्तानका राष्ट्रपति शब्कत मिर्जियोयेभ,ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन, किर्गिजस्तानका राष्ट्रपति सादिर जापारोभ र तुर्कमेनिस्तानका राष्ट्रपति सेर्दार बर्डीमहमेदोभ पनि उपस्थित हुनुहुने छ ।
बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्को, अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभ,आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान, इरानका राष्ट्रपति मसउद पेजेश्कियन, कङ्गो गणराज्यका राष्ट्रपति डेनी सासु न्गेस्सो, जिम्बावेका राष्ट्रपति इमर्सन मनङ्गग्वा,सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिच, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको, क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेल र म्यान्मारका कार्यवाहक राष्ट्रपति मिन आङ लाइङले पनि विजय दिवसमा सहभागी हुने निश्चित गरिसक्नुभएको उल्लेख छ ।
चीनको निमन्त्रणामा विभिन्न देशका संसद्का सभामुख, उपप्रधानमन्त्री तथा उच्चस्तरीय प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरू र पूर्व उच्च राजनीतिक व्यक्तित्वहरू पनि अघिल्लो दिन राजधानी बेइजिङ पुग्ने कार्यक्रम तय भएको हो । प्रधानमन्त्री ओली सोही दिन अपरान्ह बेइजिङबाट प्रस्थान गरेर राति काठमाडौं आइपुग्नुहुने छ ।
उहाँ बेइजिङबाट पूर्व रहेको थिएन्चिन शहरमा आगामी आइतबार र सोमबार हुन लागेको सांघाई सहयोग संगठनको २५ औं शिखर सम्मेलनमा सहभागी हुन शनिबार प्रस्थान गर्दै हुनुहुन्छ । उक्त सम्मेलनमा सांघाई संगठनका सदस्य राष्ट्र, पर्यवेक्षक र डाइलग पार्टनर मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरु सहभागी हुँदैछन् ।
टिप्पणीहरू