रक्सीले मातेर मान्छे कुट्दै हिंड्ने हवल्दारमाथि कारवाही

रक्सीले मातेर मान्छे कुट्दै हिंड्ने हवल्दारमाथि कारवाही

रक्सी खाएर बाटोमा बबण्डर मच्चाउने एकजना तल्लो दर्जाका प्रहरी विभागीय कारवाहीमा पर्ने भएका छन् । मदिराले मातेर बाटोमा कुटपिट गर्दै हिँड्ने हवल्दार जीवन महतलाई हेडक्वाटरले कारवाही गर्न लागेको हो ।

भदौ १० गते मंगलबार बिहान साढे तीन बजेतिर सौराहमा बाइकमा सवार दुई जनामाथि उनले रडले आक्रमण गरेका थिए । हातमा रड बोकेर फोनमा कसैलाई ‘मलाई हान्यो, चाँडै आइजा’ भन्दै हिँडेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।

बताइएअनुसार ड्युटीमा नरहेका महत र साइकलमा सवार एक व्यक्तिबीच सामान्य विवाद भएको थियो । विवादपछि साइकलवाला आफ्नो बाटो लागे पनि उनले खोजिरहेका थिए । 

त्यहीबेला बाइकमा दुई जना व्यक्ति आएको देखेपछि महतले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरी बताउँछन् । उनका अनुसार हवल्दार महतले मदिराको नशामा मान्छे नचिनेपछि गलत व्यक्तिलाई आक्रमण गर्न पुगेका हुन् । 

‘सुरुमा साइकलवासँग विवाद भएछ, उ गइसकेपछि पनि केटा (महत)ले चाहिँ खोजिरहेको रहेछ’, एसपी केसीले भने, ‘त्यतिबेला फेरि ठ्याक्क दुई जना बाइकमा आएका रहेछन्, केटाले साइकलवाल मान्छेले अरु मान्छे ल्याएर आयो कि भन्ने भ्रम भएछ र आक्रमण गरेछ, तर ती केटाहरु अरु नै थिए ।’

झगडामा महत स्वयं पनि घाइते भएका छन् । ‘अहिले उपचार भइरहेको छ, उपचारपछि कारवाही हुन्छ, प्रक्रिया अघि बढिसक्यो’, एसपी पुरीले थपे । 

प्रहरीको अनुशासन तथा आचारसंहित उल्लंघन गरेको र गरिमा घटाएकाले महतलाई कारवाही गरिने उनले प्रष्ट्याए ।
 

टिप्पणीहरू