पाकिस्तानी ठिटाहरु दुबईबाट आए,भारत छिरेनन्,मलेसिया गए
नेपाल हुँदै भारत पसेको आशंका गरिएका तीन जना पाकिस्तानी नागरिकको विवरण सार्वजनिक भएको छ । उनीहरु पछिल्लो साता नेपाल आएको तर लगत्तै विभिन्न एयरलाइन्सको उडानमा मलेसिया गएको बताइन्छ ।
स्रोतका अनुसार,भारतले आफ्नो देश छिरेको दावी गरेका पहिलो व्यक्ति अवान हुसैन अली हुन् । सिटी १६०६५५१ नम्बरको राहदानी वाहक २० वर्षीय रावलपिण्डी निवासी अवान २०८२ साउन २६ गते तदनुसार १० अगष्ट दिउँसो ३ः३० बजे फ्लाई दुबईको उडानमा नेपाल आएका थिए । भदौ १२ गते २८ अगष्टका दिन अवान अस्ति मलेसियन एयरलाइन्सको उडान नम्बर ओडी १८३ बाट क्वालालम्पुर गएको देखिन्छ ।
आरोपित दोस्रो व्यक्ति हुसेन आदिल हुन् । पाकिस्तानको उमरकोट निवासी २० वर्षीय उनी पनि यही अगष्ट ८ अर्थात् साउन २६मा फ्लाई दुबईमार्फत् नेपाल आएका थिए । २४ अगष्ट अर्थात भदौ ८ राति पौने ९ बजे मालिण्डो एयरको उडानमा क्वालालम्पुर प्रस्थान गरेको सम्बन्धित वायुसेवा कम्पनीले जनाएको छ ।
भारतको दावीका तेस्रो व्यक्ति २१ वर्षीय उस्मान मुहम्मद हुन् । उनी पनि यही अगष्ट ८ अर्थात् साउन २६ गते नेपाल प्रवेश गरेको देखिन्छ । तर १५ अगष्ट तदनुसार साउन ३१ गते बेलुकीको उडानमा ८ः०८ बजे मलेसियाको क्वालालम्पुर गएको श्रोत बताउँछ ।
यी तीनै जना छोटो अवधिका लागि नेपाल भित्रिएको र मलेसिया प्रस्थान गरेको देखिन्छ । तर,सो अवधिमा उनीहरू नेपालभित्र कहाँ–कहाँ पुगे भन्नेबारे सरकारी निकायले थप विवरणका लागि प्रयास भइरहेको जनाएको छ ।
टिप्पणीहरू