दूधको पैसा माग्दै सडकमा उत्रिएका किसानमाथि अवरोध
दूधको बक्यौता भुक्तानीको माग राख्दै सडकमा ओर्लिएका दूग्ध किसानमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
अखिल नेपाल किसान महासंघको अगुवाइमा आन्दोलित किसानहरूले काठमाडौँ महानरपालिका-२६ लैनचौरस्थित दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालयमा धर्ना दिन खोजेका थिए । त्यसक्रममा प्रहरीले अवरोध गरेको हो ।
अहिले महासंघका उपाध्यक्ष प्रेमनारायण अधिकारीको नेतृत्वमा प्रचार प्रसार विभाग प्रमुख भेषराज अधिकारीलगायत करिब दुई दर्जनको संख्यामा रहेका किसानहरू प्लेकार्डसहित धर्नामा बसेका छन् ।
प्लेकार्डमा 'दुग्ध उत्पादन किसान मार्न पाइंदैन', 'चाहिनेभन्दा धेरै कर्मचारी कटौटी गर !', 'सर्वजनिक संस्थान डुबाउने र नियुक्तिमा रमाउनेलाई कार्वाही गर !', दूग्धजन्य वस्तुको खपत र निर्यात बढाउने योजना सार्वजनिक गर !', दूधको बक्यौता रकम तुरुन्त भुक्तान गर !', 'किसानलाई पैसा नतिर्ने डिडिसि पाल्न सकिंदैन', 'दूध सडकमा पोख्ने परिस्थितिबाट किसानलाई मुक्त गर !', 'दूधको भुक्तानी सोही दिन गर्ने व्यवस्था बस्था गर !' जस्ता नारा लेखिएका छन् ।
दूधको भुक्तानीबारे लामो समयदेखि गम्भीर ढंगले कुरा उठाउँदै आएको भएपनि सरकारले बेवास्ता गरेको गुनासो किसानहरूको छ । आफूहरुको माग तत्काल सम्बोधन गर्न उनीहरूले पटक पटक सरकारको धनाकर्षण गराउंदै आएका छन् ।
टिप्पणीहरू