प्रधानमन्त्री चीन पुगेपछि हिमालय एअरलाइन्सद्वारा आभार
प्रधानमन्त्री केपी शर्मा ओली हिजो बिहान काठमाडौंबाट सोझै चीनको थिएन्चिनसम्म जान हिमालय एअरलाइन्सको स्पेशल डिप्लोमेटिक फ्लाइट प्रयोग गर्नुभएकोमा उक्त विमान कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ । चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले उक्त भ्रमणमा आफ्नो विमान प्रयोग हुने अवसर पाएकोमा सरकारप्रति आभारसहित धन्यवाद व्यक्त गरेको हो ।
हिजोको विशेष उडान एअरबस ३१९ मा प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य,शिक्षामन्त्री रघुजी पन्त,पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे,काँग्रेस उपसभापति तथा सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीको आर्थिक सल्लाहकार युवराज खतिवडासहित २७ जना सदस्य हुनुहुन्थ्यो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअरलाइन्सका अध्यक्ष चौ एन्योंग र उपाध्यक्ष विजय श्रेष्ठले स्वागत र बिदाई गरेको हिजो साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।
उपाध्यक्ष श्रेष्ठले भनेका छन्, ‘सरकार प्रमुखको औपचारिक भ्रमणका लागि विशेष उडान सञ्चालन गर्नु हाम्रोलागि साँच्चै ठूलो सम्मानको कुरा हो ।’ अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्न थालेको एक दशक पूरा भएको र आगामी वर्षमा पनि प्रतिबद्धताका साथ राष्ट्रको सेवा गरिराख्ने एअरलाइन्सले प्रतिबद्धता जनाएको छ ।
हिमालय एअरलाइन्स नेपालको पहिलो र एक मात्र आइओएसए प्रमाणित वायुसेवा कम्पनी हो । यसले उडान सुरक्षा र ग्राहक सेवाप्रति प्रतिबद्ध रहेर यात्रुहरुको यात्रा सहज र सुरक्षित बनाएको कम्पनीको दाबी छ । यसबाट हिमालय एअरलाइन्स हवाई उडानमा एक भरपर्दो र विश्वसनीय साझेदारको रुपमा स्थापित भएको बताइन्छ ।
प्रधानमन्त्री ओली र उहाँ नेतृत्वको प्रतिनिधिमण्डल बुुधबार अपरान्ह बेइजिङबाट पनि हिमालय एअरलाइन्सको अलि ठूलो एअरबस ३२०मा काठमाडौं फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू