यसकारण जंगलमै रमाउन थाले बाघ

यसकारण जंगलमै रमाउन थाले बाघ

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रसँग जोडिएका बस्तीहरूमा हालैका वर्षहरूमा जंगली जनावरको आक्रमण तथा क्षति उल्लेख्य रूपमा घटेको छ। विशेषगरी शिकारको खोजीमा बस्ती पस्ने बाघ तथा उपयुक्त बासस्थानको खोजीमा छिर्ने गैँडा र हात्तीको आक्रमण विगतका वर्षको तुलनामा कम हुँदै गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना र स्थानीय समुदायको सक्रियताले वन्यजन्तु आक्रमण तथा बालीनाली क्षति कम भएको बताइन्छ । पछिल्ला दुई वर्षमा बाघ, चितुवा, गैँडा र जंगली हात्तीलगायतका आक्रमणबाट दुई जनाको मृत्यु र १९ जना घाइते भएका थिए । तर अघिल्ला वर्षमा भएको मानवीय क्षति निकै डरलाग्दो थियो । 

आर्थिक वर्ष २०७९/८० मा मात्रै ७ जनाको मृत्यु र २१ जना घाइते भएका थिए। २०७८/७९ मा ९ जनाको मृत्यु र १५ जना घाइते भए भने २०७७/७८ मा १४ जनाको मृत्यु र १२ जना घाइते भएका थिए।

बढ्दो मानव–वन्यजन्तु द्वन्द्व कम गर्न निकुञ्जले बासस्थान सुधार, आहारा वृद्धि र समुदाय साझेदारी अभियान सञ्चालन गरेको छ। विगत तीन वर्षदेखि द्रुत गतिमा अगाडि बढाइएको यो अभियानले आक्रमण घटना घटाउन सहयोग गरेको छ।

निकुञ्जका वार्डेन अशोक रामका अनुसार शिकार प्रजाति बढाउन घाँसे मैदान व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। गत आर्थिक वर्षमा मात्रै २५० हेक्टर घाँसे मैदान व्यवस्थापन गरिएको छ। ‘पछिल्ला वर्षमा करिब ३ सय हेक्टरको हाराहारीमा घाँसे मैदान व्यवस्थापन गरेका छौँ । यसबाट शाकाहारी प्रजातिको संख्या बढ्दा बाघलाई आहाराको पर्याप्तता भएको छ,’ उनले बताए।

त्यस्तै, सुक्खायाममा हुने समस्या कम गर्न निकुञ्जले १८० वटा पोखरी निर्माण गरेको छ। तीमध्ये ५३ पोखरीमा सौर्य–चालित डिप बोरिङमार्फत् पानी भर्ने गरिएको छ। वार्डेन रामका अनुसार यी प्रयासले बाघको आहारामा वृद्धि भई बस्तीमा पस्ने जोखिम घटेको छ।

१२५ वटा बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जलाई तराईका निकुञ्जमध्ये दोस्रो ठूलो बाघ बासस्थान मानिन्छ। चितवनपछि यो बाघ संख्याका दृष्टिले सबैभन्दा ठूलो निकुञ्ज हो।

राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दिया प्रमुख अजित तुम्बाहाङ्फेले स्थानीय बासिन्दा सचेत बनेका कारण पनि जोखिम घटेको बताए। उनी भन्छन्, ‘समुदायले बाघ वा चितुवा बस्ती पस्दा तत्काल जानकारी दिन थालेका छन्। गत वर्ष मात्रै २ बाघ र ४ चितुवा नियन्त्रणमा लिएर निकुञ्जमा छाडिएका थिए। यसरी समयमा जानकारी पाउँदा उद्धार सहज हुने र सम्भावित क्षति घट्ने गरेको छ ।’

 

टिप्पणीहरू