गाउँपालिकाको घुम्ती शिविर राजधानीमा
दोलखाको तामाकोसी गाउँपालिकाले आफ्ना पालिकावासीलाई सेवा प्रदान गर्न राजधानीमै घुम्ती शिविर सञ्चालन गरेको छ । उपाध्यक्ष, वडा अध्यक्ष तथा कर्मचारीहरूको टोलीसहित गरिएको यो शिविरबाट सामाजिक सुरक्षा भत्ता, लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा प्रदान गरिँदैछ ।
शिविर जडिबुटीस्थित होटल आभारमा तीन दिनसम्म सञ्चालन गर्न लागिएको छ । उक्त कार्यको लागि गाउँ जानुपर्ने झन्झट हटेकाले राजधानीमा रहेका तामाकोशीवासी दंग देखिन्छन् ।
तर, व्यवहारमा काठमाडौंमै घरजम गरेर बसेकालाई राजधानीमै सेवा दिने अभ्यास कत्तिको जायज हो ? भन्ने प्रश्न उठाइएको छ । सामान्यतयाः घुम्ती शिविर वडास्तरमै आयोजना गरेर गाउँमै सेवा पुर्याउने प्रचलनलाई राम्रो अभ्यास मानिन्छ ।
आगामी चुनावलाई लक्षित गर्दै राजधानीमा बस्दै आएका मतदाता र तिनका परिवारलाई सेवा दिन होटलमा आयोजना गरिएको कार्यक्रमको चर्को आलोचना भएको छ ।


टिप्पणीहरू