ब्लुबुक कभरभित्र लुकेको असुली धन्दा
कोटेश्वर क्षेत्रमा ट्राफिक प्रहरीले लामो दूरीका सार्वजनिक सवारी साधनसँग दैनिक असुली गर्ने गरेको तथ्य बाहिर आएको छ । पीडित चालकहरूका अनुसार ब्लुबुक कभरमार्फत ट्राफिक प्रहरीलाई पैसा बुझाउने प्रथा चल्दै आएको छ ।
विपी राजमार्ग हुँदै गुड्ने सवारी चालकहरूले प्रत्येक दिन २०० रुपैयाँ बुझाउनुपर्ने बाध्यता रहेको उनीहरुको दाबी छ । एक चालकले भने, ‘ट्राफिकले ब्लुबुकको कभर दिन्छ, त्यसभित्र पैसा हालेर फिर्ता गर्नुपर्छ ।’ विपी राजमार्ग हुँदै दैनिक झण्डै पाँच हजार सवारीसाधन आउजाउ गर्छन् ।
कोटेश्वर क्षेत्रमा व्यवस्थित बसपार्क नहुँदा सार्वजनिक सवारीसाधनलाई सडक छेउमै रोक्नुपर्ने बाध्यता छ । चालकहरूको गुनासो छ, ‘नरोके यात्रु पाइँदैन, रोक्ने ठाउँ छैन ।’ अरनिको यातायातले जडिबुटी क्षेत्रमा निजी लगानीमा बसपार्क निर्माण गरे पनि स्थान पर्याप्त देखिँदैन । त्यसमाथि उक्त बसपार्क गैरकानुनी तवरले बनाइएको आरोपमा काठमाडौं महानगरले पटकपटक भत्काउने प्रयास गर्दै आएको छ।
ट्राफिकको असुली धन्दाविरुद्ध आज अरनिको यातायातका अध्यक्ष केदार क्षेत्री स्वयम् अग्रसर बनेका हुन् । उनले ट्राफिक प्रहरीले पैसा असुल्न प्रयोग गर्दै आएको ब्लुबुक कभर समेत सार्वजनिक गरे । चालकहरूको आरोप छ, ‘ट्राफिक प्रहरीलाई २०० रुपैयाँ बुझाए मात्र गाडी रोक्न पाउने सुविधा मिल्छ । अन्यथा, बिहानै ट्राफिक जामको नाममा हजार रुपैयाँसम्मको चिट काट्ने गरिएको छ ।’
टिप्पणीहरू