बेल्ट एण्ड रोड विचारबाट व्यवहारमा रूपान्तरण
हङकङमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको ऐतिहासिक दशौँ संस्करणको बेल्ट एन्ड रोड सम्मेलन आयोजना गर्न लागिएको छ । आगामी बुधबार र बिहीबार हङकङ कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टरमा हुने सम्मेलनले पछिल्लो एक दशकका उपलब्धिको आधारमा सरकार र व्यवसायीबीच नयाँ सहकार्यका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
हङकङ विशेष प्रशासनिक क्षेत्र सरकार र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिलले संयुक्त रूपमा आयोजना गर्ने सम्मेलनको मूल नारा ‘परिवर्तनका लागि सहकार्य: साझा भविष्य निर्माण’ राखिएको छ । यसपटक ९० भन्दा बढी उच्चपदस्थ सरकारी अधिकारी र व्यवसायी नेतृत्व सहभागी हुने बताइएको छ ।
व्यापार तथा आर्थिक विकास सचिव एल्गरनोन याउका अनुसार बेल्ट एण्ड रोड अब विचार मात्रै नभएर व्यवहारमा परिणत भइसकेको छ । उनले भने, ‘हङकङ सरकार बेल्ट एण्ड रोडलाई थप अगाडि बढाउनेछ, यसबारे समुदायका विभिन्न क्षेत्रबीच जागरण बढाउनेछ र उत्पन्न भएका अवसर उपयोग गर्न सहयोग गर्नेछ।’
सम्मेलनमा विशेष परियोजना र बजार–केन्द्रित सत्रहरू, दिगो विकास प्रवद्र्धन गर्ने गोलमेच छलफल तथा युवा व्यवसायी नेताहरूमाझ विचार आदान–प्रदान गर्ने सत्र जस्ता नयाँ कार्यक्रम समावेश गरिएको जानकारी दिइएको छ ।
बेल्ट एण्ड रोड आयुक्त निकोलस होले यसमा हङकङको योगदान उल्लेखनीय रहेको बताए। उनका अनुसार, ‘वन कन्ट्री, टु सिस्टम्स’ सिद्धान्त, अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको हैसियत, उच्चस्तरीय विश्वविद्यालय र सीपयुक्त जनशक्ति, पेशागत सेवा र प्रविधि पारिस्थितिक प्रणालीका कारण यो सम्भव भएको हो । उनले हङकङलाई ‘सुपर–कनेक्टर’का रूपमा व्याख्या गर्दै भने, ‘यहाँबाट बेल्ट एण्ड रोड परियोजनाले सही वित्तीय समाधान, साझेदार, सेवा प्रदायक र प्रतिभा पाउन सक्छ।’
आगामी दिनमा पनि हङकङको खुला, सुरक्षित र स्थिर वातावरण तथा सीमा–पार सम्बन्धका कारण बेल्ट एण्ड रोडको उच्च–गुणस्तरीय विकासमा योगदान सुनिश्चित हुने उनको विश्वास छ । बेल्ट एण्ड रोडमार्फत निकै सक्रिय कम्पनीमध्ये एक शुआङदेंग ग्रुप हो, जसले ऊर्जा भण्डारण ब्याट्री उत्पादनमा अग्रणी भूमिका खेल्दै आएको छ । कम्पनीका वरिष्ठ सल्लाहकार जेम्स सुका अनुसार, बेल्ट एण्ड रोडले उनीहरूको लागि अभूतपूर्व अवसर ल्याइदिएको छ ।
‘केही वर्षअघि हामीले हङकङलाई हाम्रो वैश्विक विस्तारको प्लेटफर्म बनाउने रणनीतिक निर्णय गरेका थियौँ। यसमा हङकङ सरकार र सम्बन्धित संस्थाबाट दह्रो समर्थन पायौँ,’ उनले भने । गत मेमा हङकङका प्रमुख कार्यकारी जोन लीको नेतृत्वमा भएको मध्यपूर्व भ्रमणपछि गत हप्तामात्रै कम्पनीले हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भएर महत्वपूर्ण उपलब्धि हासिल गरेको उनले जनाए । ‘हङकङको पुँजी बजार हामीजस्ता कम्पनीका लागि शक्तिशाली ऊर्जा बनेको छ ।’
टिप्पणीहरू