उता राष्ट्रपतिलाई डेढ घण्टा विशेष सुरक्षा,यता प्रहरी इन्तु न चिन्तु
हिजो जेन जीको विरोध प्रदर्शन हिंसात्मक बन्नुमा पर्याप्त सुरक्षाकर्मीको अभाव देखिएको छ । डेढ हजार मिर्गौला प्रत्यारोपणमा सफलता मिलेको उपलक्ष्यमा प्रमुख अतिथि बनाइएका राष्ट्रपतिको सुरक्षार्थ भएभरका सुरक्षाकर्मी खटाउँदा संसद भवन बाहिर आन्दोलनकारीलाई रोक्न प्रहरीलाई हम्मे परेको तथ्य खुलेको छ ।
बिहान ११ बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले १५ सय मिर्गौला प्रत्यारोपणमा सफलता प्राप्त गरेको अवसरमा कार्यक्रम आयोजना गरेको थियो । प्रमुख अतिथि बनाइएका राष्ट्रपति ११ बजे महाराजगञ्जस्थित शीतल निवासबाट बाहिरिँदा र फर्कंदाको साथै कार्यक्रम अवधिभर त्यहाँ रहँदा झण्डै पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको थियो । सवा ११ बजे भृकुटीमण्डप पुग्नुभएका राष्ट्रपति साढे १२ बजे शीतल निवास फर्कनुभयो ।
उता नयाँ बानेश्वर क्षेत्रमा बिहान साढे ११ बजेदेखि आन्दोलनकारीको प्रदर्शन उग्र बन्न थालिसकेको थियो । सीमित प्रहरीले रोक्न नसकेपछि आन्दोलनकारी संसद भवन परिसरमा छिरेको देखिन्थ्यो । यता शीतल निवासदेखि भृकुटीमण्डपसम्म सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र गुप्तचरका गरी झण्डै पाँच सय जनाले खटिनुपर्यो ।
अवकाशप्राप्त एक जना प्रहरी महानिरीक्षक भन्छन्, ‘राष्ट्रपतिको सवारीमा सामान्यतयाः साढे तीन सय जना खटाइन्छन् । राजधानीको तनावपूर्ण अवस्थालाई हेरेर थप एक डेढ सय परिचालन गरिएको हुनसक्छ । घटनाको पूर्व अनुमान गर्न नसकेकाले नेपाल प्रहरी र अनुसन्धान विभागको क्षमतामाथि गम्भीर प्रश्न उठेको छ । उता राष्ट्रपतिको सुरक्षा टोलीले पनि हिजो उहाँलाई ११ बजे त्यो कार्यक्रममा लैजान हुन्नथ्यो ।’
यता गृहमन्त्रीको कार्यकक्षमा रहेको केन्द्रीय कमाण्डलाई गोली प्रहारको घटनापछि बल्ल जानकारी दिइएको बुझिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा गोली चलाइएपछि आन्दोलनकारीहरु एकपछि अर्को मारिएको खबर बाहिरिएका थिए । सो क्रममा झण्डै दुई दर्जनको निधन भएको छ । साढे चार सयभन्दा बढी घाइते छन् ।
प्रहरीले रबरको गोली प्रहार गरेको बताए पनि मेटल बुलेट प्रयोग भएको पाइएको छ । मृतकको शरीरबाट निकालिएको गोलीको फोटो जनआस्थासङ्ग सुरक्षित छ ।
टिप्पणीहरू