राजा र रास्ट्रपतिको घटनाबाट पाठ सिक्नुपर्छ सेनाले

राजा र रास्ट्रपतिको घटनाबाट पाठ सिक्नुपर्छ सेनाले

अस्ति सोमबार काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा भएको जेनजी प्रदर्शनपछि भड्किएको हिंसाका कारण हिजो देशले भयावह अवस्थाको सामना गर्नुपर्यो । प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीबाट मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित महत्वपूर्ण सरकारी संरचना क्षणभरमा ध्वस्त भयो । राज्यका मुख्य तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख भवनहरू जलेर खरानी भएका छन् ।

प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, विधायिकी केन्द्र संसद भवन,राष्ट्रपति कार्यालय,सर्वोच्च अदालत,प्रधानमन्त्री निवासलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताको निवास आक्रमणकारीको निशानामा परेको थियो । अराजक भीडले व्यक्तिका निजी सम्पत्ति,कतिपय स्कूल,ऐतिहासिक धरोहरमा पनि आगो लगाएको छ । देशभरका थुप्रै प्रहरी कार्यालयमा आगजनी गरिएको छ । काठमाडौँ उपत्यका बाहिर पनि आगजनी र तोडफोडका घटना हिसाब गरिसाध्य छैन ।  

हिजो दिनभर काठमाडौँ उपत्यकासहित देशका मुख्य शहरहरू राज्यको नियन्त्रणबाट बाहिर पुगेको थियो । सिंहदरबार,सर्वोच्च अदालत,राष्ट्रपति भवन,प्रधानमन्त्री कार्यालय,प्रदेशका प्रशासनिक संरचनामा खुलेआम आक्रमण भैरहँदा सुरक्षा निकायको उपस्थिति खासै थिएन । कस्तोसम्म अवस्था रह्यो भने सिंहदरबार रातभर जलिरहँदा कसैले पनि आगो निभाउने प्रयास गरेन । 

नेपाली सेनाले किन बेलैमा पहलकदमी लिएन ? विश्वमै बहादुरी र वीरताको छुट्टै पहिचान बनाएको सेना कहाँनेर चुक्यो ? प्रहरीको काबुबाट परिस्थिति बाहिर पुगिसकेपछि पनि सेना किन अघि सरेन ?

देश भयङ्कर शून्यताको स्थितिबाट अहिले पनि बाहिर निस्कन सकेको छैन । नेपाली सेनाले हिजो राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेपछि परिस्थिति केही सम्हालिएको त छ, आगजनी र तोडफोडका प्रयास अहिले पनि भैरहेको देखिन्छ । यतिधेरै भौतिक सम्पत्ति क्षति भएको छ कि देश कम्तिमा ५० वर्ष पछाडि धकेलिएको अनुमान भैरहेका छन् । 

मुलुक यस्तो अप्ठेरो अवस्थामा पुग्दासमेत नेपाली सेनाले किन बेलैमा पहलकदमी लिएन ? विश्वमै बहादुरी र वीरताको छुट्टै पहिचान बनाएको सेना कहाँनेर चुक्यो ? प्रहरीको काबुबाट परिस्थिति बाहिर पुगिसकेपछि पनि सेना किन अघि सरेन ? सैनिक नेतृत्वमाथि यी र यस्ता प्रश्न उठिरहँदा विगतमा पनि सेनाको भूमिकाप्रति प्रश्न नउठेको होइन । माओवादी जनयुद्धका बेला सुरक्षा रणनीति कार्यान्वयनमा भएको असफलता होस् या दरबार हत्याकाण्डको पूर्वानुमान गर्न नसक्नुलाई नेपाली सेनाको ठूलो कमजोरीका रुपमा लिने गरिन्छ। 

जे नहुनुपर्ने हो त्यो भैसकेको छ । ढिलै भए पनि सेनाले देशको सुरक्षाको जिम्मेवारी लिएकाले आम नागरिकले छिट्टै शान्तिको प्रत्याभूति गर्न पाउने अपेक्षा गरेका छन् ।

राजा वीरेन्द्रको वंशनाश भएको दरबार हत्याकाण्डमा आफ्नै परमाधिपतिलाई बचाउन नसकेको आरोप खेपिरहेको सेनामाथि अहिले पनि त्यस्तै प्रश्न उठेको छ । त्यतिबेलाका प्रज्वलसमशेर राणाले दरबारको सुरक्षा सेनाको हातमा नहुने भन्दै हात उठाएपछि ३ बटालियन अर्थात् २२ सय फौज तैनाथ भए पनि नारायणहिटीको सुरक्षा घेराभित्रै वीरेन्द्रको सपरिवार खरानी भएको थियो । 

अहिले पनि राष्ट्रपति कार्यालय जोगाउन असफल रह्यो । आफ्ना परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेललाई हेलिकोप्टरबाट उद्धार गरेर ज्यानसम्म जोगायो,तर वर्तमान व्यवस्थाको प्रतीक राष्ट्रपति कार्यालय दनदनी बलेको हेरिरह्यो । आँखै अगाडि सिंहदरबार जलिरहँदा सेनाले एउटा दमकलसमेत पठाउन सकेन । 

खैर,जे नहुनुपर्ने हो त्यो भैसकेको छ । ढिलै भए पनि सेनाले देशको सुरक्षाको जिम्मेवारी लिएकाले आम नागरिकले छिट्टै शान्तिको प्रत्याभूति गर्न पाउने अपेक्षा गरेका छन् । यसमा सैनिक नेतृत्व खरो उत्रन सक्नुपर्छ । यो अराजकता रोक्न कठोर कदम चल्दै अघि बढोस् । देशमा अशान्ति रोक्न पाइला अघि बढोस् । सबै जर्नेलले आफ्नो गौरवशाली ईतिहास स्मरण गरुन् ।  

टिप्पणीहरू