सर्वोच्च अदालतले काम थाल्ने

सर्वोच्च अदालतले काम थाल्ने

सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीश संलग्न आकस्मिक ‘फूल कोर्ट’ बैठकले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ कार्य थाल्ने निर्णय गरेको छ ।

आज बसेको फूल कोर्ट बैठकपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका नामबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘सोही बमोजिम यस अदालतमा मिति २०८२।०५।२९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयअनुसार सर्वसाधारण सबैको जानकारीका लागि अनुरोध छ।’

सर्वोच्चमा भएको आगजनीका कारण न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू नष्ट भए पनि संविधानले दिएको जिम्मेवारी पूरा गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको उल्लेख छ । ‘नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू करिब–करिब नष्ट हुन गएका छन् । यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वाह गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहँदै आम नागरिकका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालत सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू