युरोपबाटै आगो लगाउन उक्साउने युवतीविरुद्ध उजुरी
मुलुकभर एकै दिनको भिषण हिंसात्मक घटनामा हालसम्म ७२ जनाको ज्यान गइसकेको छ । खरबौंको सार्वजनिक तथा निजी सम्पत्ति नष्ट भएको अवस्थामा, युरोप बस्ने एक नेपाली युवतीले सामाजिक सञ्जालमा भिडियोमार्फत् थप हिंसा उक्साउने प्रयास गरेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको छ ।
आफूलाई टिकटकर बताउने निगा बिसुन्खे उर्फ ‘सियोन’ले पोल्यान्डबाट फेसबुक र टिकटकमा पोष्ट गरेको भिडियोमा ‘सबै नेतालाई मार, सरकारको कार्यालय जलाइदेऊ’ जस्ता उक्साहटपूर्ण अभिव्यक्ति दिएकी छन् । उनले विदेशीवासी नेपालीहरूबाट मासिक रुपमा सहयोग आए ती पैसाले “नयाँ देश बनाउने” भन्दै आगजनी र हत्याका लागि उक्साउने शैलीमा आह्वान गरेको देखिन्छ।
उनले भनेकी छन्, ‘आजचाहिँ यी चोर नेताहरूलाई जलाइदिए हुन्छ है । हामी विदेशमा बस्नेले एक–एक महिनाको तलब पठाएर भए पनि फेरि नयाँ देश बनाउने छौँ ।’ उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यसरी सार्वजनिक रूपमा हिंसा उक्साएको भन्दै एक सचेत नागरिकले बर्लिनस्थित नेपाली राजदूतावासमार्फत् पोल्यान्ड सरकारसमक्ष उजुर गरेका छन् । उजुरीमा निगा बिसुन्खेविरुद्ध डिपोर्ट गरेर नेपालमै कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ।
बर्लिनबाट सम्बन्धित प्रमाणसहित त्यसबारे जानकारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र साइबर ब्युरोमा पठाइएको बुझिएको छ । सुरक्षाका कारणले उजुरीकर्ताको नाम गोप्य राखिएको छ।
पोल्याण्डमा सेतो कुकुर नामले परिचित सियोनका पति पोलीस नागरिक हुन्। पति पोलीस नागरिक भएको आडमा युरोपमा रहेका नेपालीलाई टिकटकमार्फत अवैधानिक रुपमा पोल्याण्ड ल्याउन खुलेआम विज्ञापन गरेर नेपालीलाई दुःख दिएको समेत उनलाई गम्भीर आरोप छ। पोल्याण्ड आउन परे 'शुसिल ब्रो' लाई सम्पर्क गर्न भन्दै राखेका कयौं भिडियो अहिलेसम्म पनि उनको टिकटकमा देखिन्छ।
टिप्पणीहरू