कारागारबाट फरार कैदी ससुराली पुगेर मस्त
मकवानपुरको भीमफेदी कारागारबाट फरार दुई जना कैदीलाई प्रहरीले पक्रेको छ । बारा जिल्ला प्रहरीले फरार दुई कैदी र यसबीचमा चोरीमा संलग्न भएको अभियोग लागेका एक युवकलाई पनि नियन्त्रणमा लिएको छ ।
भदौ २६ गते भीमफेदी कारागारबाट भागेका विश्रामपुर गाउँपालिका–५, नकटुवा टोलका २१ वर्षीय शेख आजादलाई प्रहरीले विश्रामपुरमै लुकेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ । लागुऔषध मुद्दामा एक वर्ष दुई महिना कैद सजाय पाएका उनलाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायव निरीक्षक वीरेन्द्र यादवको कमाण्डमा खटिएको टोलीले पक्रेर जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ ।
त्यस्तै, चितवनको टाँडी घर भई कलैया उपमहानगरपालिका–१०, मटिअर्वा ससुराली घरमा लुकेर बसेका ३६ वर्षीय अर्जुनकुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध मुद्दामा सजाय भोगिरहेका साह भदौ २४ गते सोही कारागारबाट फरार भएका थिए। उनलाई प्रहरी चौकी मटिअर्वाबाट प्रहरी नायव निरीक्षक दिलीपजंग शाहीको कमाण्डमा खटिएको टोलीले पक्रेर जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ ।
उता बाराको सुवर्ण गाउँपालिका–८, पशुरामपुरस्थित जमान्त मियाको घरमा भदौ २४ गते चोरेको आरोपमा २६ वर्षीय मन्नु मियालाई इनर्वा चोकबाट स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । सुवर्ण गाउँपालिका–४, हर्दियाका फरिद मियाका छोरा मन्नुलाई प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको हो ।
टिप्पणीहरू