चोकको नाम उल्टाउने तयारी

चोकको नाम उल्टाउने तयारी

कुनै ठाउँ वा वस्तुको चिनारी नामले हुन्छ । नाम भनेको मात्र पहिचान होइन, इतिहासको साक्षी हो । तर नेपालमा नाम राजनीतिक दलको बदलिँदो हैसियतसँगै किन पटक–पटक बदलिनुपर्ने ?

गैंडाकोटको कांग्रेसचोकलाई अहिले फेरि जेन–जी चोक बनाउन खोजिँदैछ । प्रश्न उठ्छ—यो चोक कांग्रेसचोक भनेर चिनिएको ३०–४० वर्ष लामो सामाजिक स्मृति के यति सहजै मेटिन सक्छ ?

कांग्रेसचोक नामकरण पनि कुनै तटस्थ प्रक्रियाबाट भएको थिएन । नेपाली कांग्रेसले आफ्नो गढ देखाउन महेन्द्र राजमार्गकै मुख्य चोक कब्जा गरेझैँ नामाकरण गर्यो । त्यसपछि माओवादी विद्रोहपछिको राजनीतिक उभारमा त्यहीँ ‘लोकतान्त्रिक चोक’ लेखिएको बोर्ड टाँगियो । तर त्यो पनि टिकेन, हरायो । फेरि पुरानै नामले समाजले त्यही ठाउँलाई चिन्यो । अहिले आएर ‘जेन–जी चोक’ को बोर्ड टाँसियो । तर नाम बदल्ने यो खेल कतिसम्म चल्छ ? के चोकहरूको स्मृति केवल दलहरूको प्रयोगशाला हो ?

अझै अचम्म के छ भने, काँग्रेसचोक मात्र होइन, गैँडाकोटकै अन्य चोकहरू पनि ‘राजनीतिक प्रयोगशाला’ भएका छन् । विजयचोकलाई ‘एमाले चोक’ बनाउन खोजिएको थियो, सफल भएन । खत्रीफिड नजिकैको ठाउँ कालीगण्डकी चोक बनेको हो भने त्यो कुनै पार्टीको कारण होइन—भौगोलिक–आर्थिक कारणले, कालीगण्डकी करिडोरको महत्वले । प्रश्न त यहीँ उठ्छ—जब स्थानको नाम प्राकृतिक, भौगोलिक वा ऐतिहासिक कारणले लोकप्रिय हुन्छ, किन टिक्छ ? र जब नाम पार्टी–राजनीतिले थोपर्छ, किन हराउँछ ?

नेपालजस्तो बहु–विचार र बहु–आस्थाको समाजमा सार्वजनिक स्थानलाई दलहरूको निजी सम्पत्ति बनाउने प्रवृत्ति कतिसम्म जायज हो ? कुनै बहालवाला नेता वा समूहको नाममा चोक राख्नु भनेको त्यो ठाउँलाई दलको गोटी बनाउनु होइन र ? स्मृति त त्यही टाँसिन्छ, जुन साझा हुन्छ—सहीदको बलिदान, राष्ट्रिय योगदान, अथवा ऐतिहासिक महत्व । त्यसोभए किन दलहरू अझै पनि चोकलाई आफ्नो ‘पोस्टर बोर्ड’ बनाउने लालसामा छन् ?

के हामी अझै बुझ्दैनौं—साझा ठाउँ साझा स्मृतिले मात्र टिक्छ, दलगत नामले होइन ?

– अजय गोर्खाली

टिप्पणीहरू