युनिटी पीडितलाई अन्तिम मौका
ललितपुर जिल्ला अदालतले युनिटी लाइफ इन्टरनेशनल नेटवर्किङका नाममा ठगिएका पीडितहरुसँग रकम फिर्ताका लागि निवेदन आह्वान गरेको छ । आज तेस्रोपटक सूचना जारी गर्दै अदालतले एक महिनाभित्र देशभरको जुनसुकै जिल्ला अदालतको तहसिल शाखामार्फत रकम फिर्ताको निवेदन दर्ता गर्न भनेको छ ।
तोकिएको समयभित्र दावी नगरेमा प्रचलित कानुनी व्यवस्थाअनुसार फैसला कार्यान्वयनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइने र म्याद समाप्त भएपछि कुनै निवेदन दर्ता नहुने अदालतले स्पष्ट पारेको छ ।
‘आफ्नो दावी प्रमाणसहित एक महिनाभित्र यस अदालतको तहसिल शाखामा वा देशभरको जुनसुकै जिल्ला अदालतका तहसिल शाखामार्फत रकम फिर्ताका लागि निवेदन दर्ता गर्नुहोला’,सूचनामा भनिएको छ,‘तोकिएको समय सीमाभित्र दावी पेश नगरेमा प्रचलित कानुनी व्यवस्थाअनुसार फैसला कार्यान्वयनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइनेछ र म्याद समाप्त भएपछि कुनै पनि निवेदन दर्ता गरिने छैन ।’
दिनेशकुमार भण्डारीसमेतको जाहेरीले वादी सरकार र प्रतिवादी काशीराम गुरुङ्गसमेत भएको ठगी मुद्दामा सर्वोच्च अदालतले गत वैशाख २ गते अन्तिम फैसला गरेको छ । दर्ता नम्बर ०७४–सी४–१११७ भएको मुद्दामा सर्वोच्चले युनिटी लाइफको ठगीमा परेका पीडित सर्वसाधारणको हकमा रकम उपलब्ध गराउन राष्ट्रिय पत्रिकामा तीनपटक, प्रत्येक सात दिनको फरकमा सूचना प्रकाशन गर्न ललितपुर जिल्ला अदालतको तहशिल शाखालाई आदेश दिएको थियो ।
जसअनुसार आज अन्तिमपटक गोरखापत्रमा सूचना प्रकाशित गरिएको हो ।
टिप्पणीहरू