नारायणगढ कर्पाेरेशनमा चाडबाड व्यापार

नारायणगढ कर्पाेरेशनमा चाडबाड व्यापार

सरकारले चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । शैं, तिहार नजिकिँदै गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिड्ड कर्पाेरेसनमार्फत सोमबारदेखि देशभरका १५३ ठाउँबाट सहुलियत मूल्य पसल सञ्चालन गरेको हो । 

आगामी छठसम्म सञ्चालनमा रहने सहुलियत पसलबाट नुन, चिनी लगायतका केही खाद्यबस्तु सुपथ भाउमा उपलब्ध गराइनेछ । नारायणगढको साल्ट ट्रेडिङबाट नुन,चिनी,दाल-चामल, चिउरा, चियापत्ती, तेल र गेडागुडी सहुलियत दरमा बिक्री वितरण भइरहेको छ । 

चिनी र नुनको मूल्य देशभर लगभग एकै जस्तो भएपनि अन्य खाद्यका मूल्यमा केही तलमाथि हुनसक्ने बताइन्छ । सस्तोमात्र भन्दा पनि गुणस्तरीय सामग्री उपलब्ध गराउने प्रयास हो’,कर्पाेरेशनको नारायणगढ शाखा प्रमुख बुद्धिविनोद दाहालले भने । चाडबाडको अवसरमा साबिकको मूल्यभन्दा प्रत्येक सामान प्रतिकेजी दुई रुपैयाँदेखि १० रुपैयाँ छुटमा बिक्रीवितरण भइरहेको उनले बताए ।

अरुबेला पनि निरन्तर पसल सञ्चालन भइरहेको नारायणगढ कर्पाेरेसनको बिक्री कक्षमा अस्तिबाट नुन प्रतिकेजी २४ र चिनी प्रतिकेजी ९५ रुपैयाँमा बिक्रीवितरण भइरहेछ । ‘अस्तिसम्म चिनीको मूल्य यहीँ १०३ थियो’, बिक्री कक्षका स्टाफ कृतिकिशोर क्षेत्रीले भने । 

‘बाहिर बजारमा चिनी १०५ देखि ११० र १२० रुपैयाँ सम्म लिइँदो रहेछ’, बिक्री कक्षकै स्टाफ सरस्वती थापाले बताइन् । नुन पनि बाहिर बजारमा ३० रुपैयाँसम्म पर्ने बुझिन्छ । 

साल्ट ट्रेडिङको चाडपर्वलक्षित सहुलियत पसलमा १९ सय/दुई हजार जतिमा बिक्रीवितरण भइरहेको चामल बाहिर बजारमा २१/२२ सयसम्म पर्ने भनी ग्राहकहरुले नै आएर भनिरहेको सरस्वती बताउँछिन् । पहिलो दिन १४३ जना ग्राहक आएको उनले जनाइन् । 

अहिले सहुलियत दरमा भान्साघर लङ्ग्रेन चामल पाँच केजीको ८३५, माइतीघर जिरा चामल २५ केजीको १९०० र मंगलम सोनम चामल २५ केजीको दुई हजार १५ मा उपलब्ध छ । किलोको एक सय ४२ पर्ने मुसुरोको दाल अहिले १३५ मा छ । रहर, मास, मुङ र चनाका दाल पनि सहुलियत मूल्यमा छन् । एक केजीको भान्छाघर झुरुम चिउराको मूल्य ९५ कायम गरिएको छ । मुरली मकै पनि सहुलियतमा उपलब्ध छ । 

हिजो उक्त बिक्री कक्षमा भेटिएका भरतपुर–२ का स्थानीय तेजबहादुर भण्डारीले चाडबाडमा सहुलियत मूल्य पसल सञ्चालन हुँदा सधैं यहीँ आएर किन्ने गरेको बताए । गैंडाकोटको प्रहरी चौकी अगाडितिरबाट आएका अर्का उपभोक्ताले सहुलियत पसलमा आफूले ११५ मा किनिरहेको सनफ्लावर तेल देखाउँदै भने, ‘हाम्रोतिर एकसय २५ पर्छ । चिनी १०५ पर्छ, यहाँ अहिले रु. ९५ मा पाइएको छ । १० त फाइदै भयो नि !’ 

अन्दा पनि दशैंमा मासुको खपत र उपभोग असाध्यै हुने गर्छ । चाडबाडको मौकामा बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि, गुणस्तरहीन सामान बिक्रीवितरण लगायत कालोबजारी र ठगीको सम्भावना उत्तिकै बढी रहन्छ । 

स्थानीय पालिका, प्रशासन र सम्बन्धित कार्यालयहरुबाट बेलाबेलामा बजार अनुगमन हुने गरेको भएपनि भरतपुर, चितवनमा अझै व्यवस्थित बधशालासमेत बन्न नसकेको र सुन पसलहरुको पनि राम्ररी अनुगमन नभइरहेको उपभोक्ताहरुको व्यापक गुनासो छ । – अजय गोर्खाली

टिप्पणीहरू