जेन–जीका नाममा राजीनामा मागिएपछि ट्रेड युनियनहरू एकजुट
सार्वजनिक प्रशासन रूपान्तरणको नाममा कर्मचारी नेतृत्वको बर्खास्तगी र राजीनामा माग्न थालेपछि निजामती कर्मचारीमा क्रियाशील ट्रेड युनियनहरू एकजुट भएका छन् । आधा दर्जन ट्रेड युनियनहरूले मुख्यसचिव एकनारायण अर्याललाई ज्ञापनपत्र बुझाउँदै त्यस्ता गतिविधि स्वीकार्य नहुने बताएका छन् ।
अन्तरिम सरकार गठनपछि केही कर्मचारीले ‘जेन–जी निजामती भेला’ गरी मुख्यसचिव, केही सचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, रजिष्ट्रारलगायतको राजीनामा मागेका छन् । त्यस्तै, कर्मचारी ट्रेड युनियन विघटनको आवाज पनि उठाइएको छ ।
त्यसप्रति आपत्ति जनाउँदै नेपाल निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन, राष्ट्रिय निजामती कर्मचारी संगठन, मधेशी कर्मचारी मञ्च, एकीकृत सरकारी कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी संगठनले मुख्यसचिव अर्याललाई ज्ञापनपत्र बुझाएका हुन्।
उनीहरूले कानुनबमोजिम दर्ता भएका संस्थाप्रति नकारात्मक टिप्पणी गर्नु, नेतृत्वको राजीनामा वा बर्खास्ती माग्नु समस्याको समाधान नभएको स्पष्ट पारेका छन्। ‘सार्वजनिक प्रशासनको रूपान्तरण संविधान, ऐन, नियम र समयसापेक्ष निर्माण वा संशोधनमार्फत गर्न सकिन्छ भन्ने हाम्रो मान्यता छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
उनीहरुले निर्वाचन वातावरण सहज बनाउन र युवा पुस्ताले आन्दोलनका क्रममा व्यक्त गरेका सुशासन तथा सेवा प्रवाहमा सुधारको अपेक्षालाई मूर्तरूप दिन कर्मचारीतन्त्रका सबै तहका पदाधिकारीलाई मन, वचन, कर्म र निष्ठासहित लाग्न आह्वान गरेका छन् ।
टिप्पणीहरू