स्रोत नखुलेको नगदबारे अनुसन्धान जारी
अर्थ मन्त्रालयले स्रोत नखुलेको नगद भेटिएका स्थानमा अनुसन्धान भइरहेको जानकारी गराएको छ । जेन जी विध्वंशको क्रममा राजनीतिक दलका नेताका घरमा आगजनी हुँदा नगदसमेत जलेको वा जलेको अवस्थामा भेटिएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मन्त्रालयले त्यसबारे अनुसन्धान जारी रहेको बताएको हो ।
आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको जानकारी दिएको छ । ‘विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको भन्ने सम्बन्धमा सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको छ,’ मन्त्रालयले भनेको छ ।
मन्त्रालयले नगद कारोबारसम्बन्धी कानूनी व्यवस्था पनि स्मरण गराएको छ । जसअनुसार कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाख वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा बैंकिङ्ग उपकरणमार्फत गर्नुपर्ने तर करसम्बन्धी प्रचलित कानूनले सीमा तोकेकोमा सोहीबमोजिम हुनेछ ।
त्यस्तै, नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर पाँच हजारसम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर पाँच हजार बराबर हुन आउने भारतीय रुपैयाँसम्म र नेपाल राष्ट्र बैंकबाट विनियम दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर पाँच हजार बराबरसम्म) भन्सार घोषणाबिना नेपाल भित्र्याउनसक्ने र सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने जनाइएको छ ।
मन्त्रालयका अनुसार नेपाली नागरिकले विदेशमा रोजगारी वा व्यवसाय गरी आर्जन गरेको, विदेश भ्रमणका लागि सटही सुविधाअन्तर्गत प्राप्त गरेको विदेशी मुद्रामध्ये बचत हुन आएको विदेशी मुद्रालगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम १५ सय अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म नगदमा राख्नसक्ने व्यवस्था छ ।
यी कानूनी व्यवस्थाबाहेक स्रोत नखुलेको नगद कहीँ कतै भेटिएको अवस्थामा प्रचलित कानूनबमोजिम अनुसन्धान र कारबाही गर्न सबै निकायलाई सक्रिय गराइएको मन्त्रालयको भनाइ छ ।
टिप्पणीहरू