गोकुल खरानी टक्टक्याउँदै चोटा कोठामा

गोकुल खरानी टक्टक्याउँदै चोटा कोठामा

२०७६ फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बम पड्काएर छियाछिया बनाएको पूर्वमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाको लोहकन्थलीस्थित साढे २ आनामा बनेको साढे दुई तले भवन भित्रैबाट पूर्ण रूपमा जलेर खरानी भएको छ ।

‘चौथो पटकको आक्रमणमा घर पूर्ण ध्वस्त बनाए, तर खरानी टक्टक्याउँदै पार्टी र विचारलाई अघि बढाउनेछु,’ भेट्न जानेहरूसँग बाँस्कोटा भन्छन्, ‘नियोजित रूपमा व्यक्तिका घर छानीछानी आक्रमण गर्ने जत्थाको पहिचान हुनु जरुरी छ । जेन–जीले उठाएका कतिपय माग जायज छन् ।’

बाँस्कोटाको घरमा पहिलो आक्रमण गर्ने र भीडलाई उक्साउने कलाकार अपूर्व क्षितिज रहेको बताइन्छ । त्यसक्रममा काभ्रेको भुम्लु घर भएका एक माओवादी नेता पनि संलग्न थिए । आगलागी हुनु आधा घण्टाअघि उनकी श्रीमती र सन्तान भागिसकेका थिए । बाँस्कोटा स्वयम् पनि उपचारका लागि बाहिरै थिए । घर जलेपछि उनी सपरिवार आफन्तकोमा शरण लिएर बसिरहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार घरअगाडि रहेको पार्कबाट अपूर्व क्षितिजले युवाहरुलाई जम्मा हुन आग्रह गर्दै लाइभ गरे । भीड जम्मा भएपछि “हान्दियो भनी” उकास्थे । केही युवा गएर ढुंगामुढा गर्थे । त्यसपछि “आँटेपछि सकिँदो रहेछ गाइज” भन्दै उचाल्थे । क्षणभरमै आगोको मुस्लो दन्कियो ।

बाँस्कोटाले छानीछानी घर हानेर ध्वस्त बनाए पनि विचारको जग हल्लिन नसक्ने दाबी गरेका छन् । पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका उनले “अब नेतृत्वले बिदा लिनुपर्छ” भन्ने अभिव्यक्ति दिएका छन् ।

मदन भण्डारीकै शैलीमा कोही नेता आउलान् वा नआउलान्, तर एमाले जनताबीच फर्किन्छ भन्ने उद्घोष उनले संविधान दिवसका अवसरमा बनेपाको चार दोबाटोमा गरेका थिए । ७० करोड रुपैयाँ घूसको अडियो सार्वजनिक भए पनि ०७९ को निर्वाचनमा जनताले उनलाई पुनः अनुमोदन गरेका थिए ।

पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, वडाध्यक्ष पुरुषोत्तम अधिकारी, पूर्व नगर प्रमुख भीम न्यौपाने र उनका छोरा दीपक न्यौपाने, अन्नपूर्ण पोस्ट र सिम्रिक एयरका प्रमुख क्याप्टेन रामेश्वर थापा, पूर्वसांसद तथा कांग्रेस नेता शिवप्रसाद हुमागाईंलगायतका घरमा समेत तोडफोड, लुटपाट र आगजनी भएको छ । उता धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुको घरमा समेत आगजनीसहित लुटपाट भएको छ ।

त्यस्तै बनेपा नगरपालिका, इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय जलाएर पूर्ण ध्वस्त बनाइएको छ । अन्य प्रहरी चौकी, नगरपालिका तथा वडा कार्यालयहरूमा पनि तोडफोड र लुटपाट भएको छ । कारागार कार्यालयभित्र समेत आगो लगाइएको छ ।

पनौती–३ कुशादेवीस्थित पूर्व नगर प्रमुख भीम न्यौपाने र उनका छोरा दीपक न्यौपानेको घरमा पनि आगजनी भयो । न्यौपानेको घर जाने बाटो पुल नजिकै केही समय स्थानीयले जत्थालाई रोक्ने प्रयास गरेका थिए । तर उनीहरूले हतियारसहित मिनीट्रकमा थप जत्था ल्याएपछि स्थानीय केही गर्न सकेनन् । त्यसपछि सो समूहले आक्रमण, तोडफोड र आगजनी सुरु गरेको थियो ।

उही समूह क्याप्टेन थापा, उपप्रमुख बञ्जारा र वडाध्यक्ष अधिकारीको घर जलाउन समेत सहभागी थियो । माओवादी नेता आशिष घोरसाइनेसहित उनीहरू नगर प्रमुख रामशरण भण्डारीको घर हान्न पुगेका थिए ।

रास्वपा नेता विवेक भट्टराई र सुदर्शन तिमिल्सिनाले शिव हुमागाईंको सम्पत्ति तोडफोड गरेका थिए । ती दुवै जनाले रास्वपाबाट राजीनामा दिइसकेका छन् । माओवादी, रास्वपा र केही कांग्रेससम्बद्ध व्यक्तिहरू खुलेआम घरमा तोडफोड र आगजनीमा सक्रिय भएका पुष्टि भएको छ ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू