हामी नेपाली यसरी जुट्छौं आपतविपतमा
जिल्ला प्रशासन कार्यालय चितवनमा हिजो साँझ ६ बजे अपर्झट बैठक बस्यो । प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले बोलाएको बैठकमा सुरक्षा निकायका प्रतिनिधिसहित होटल व्यवसायी, उद्योगी र मिडियाकर्मीको उपस्थिति थियो ।
बैठकमा सिडिओ गणेश अर्यालले भने,‘अहिले सबैलाई थाहा छ राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिन सवारी आवागमन बन्द भनेको छ । त्यो सूचनाबमोजिम हामीले लामो दूरीका सबै सवारी साधनहरुलाई सकेसम्म स्रोत बिन्दुमै रोक्ने र बीचमा आइसकेका, सडकमा प्रवेश गरिसकेकालाई गन्तव्यसम्म पुर्याउनका लागि पहल र प्रयत्न गरिरहेका छौं । दशैं मनाउन गएका यात्रुहरु छन्, अत्याधिक प्रेसर छ । कम्प्लिटली जिरो गर्न सकिँदो रहेनछ । हामी लड्दै भिड्दै दिनभरि नै सडकमा खटिरहेका छौं । हाम्रा साथीहरु पानीमा पुरै निथ्रुक्क भिजेर सवारी साधनको आवागमन रोक्ने, व्यवस्थापन गर्ने कुरामा लागिरहनुभएको छ ।’
सार्वजनिक सूचनापछि आकंलनविपरीत सवारी साधनहरु सडकमा देखिएको बताउँदै उनले भने,‘अब ती सवारी साधनहरुलाई त्यत्तिकै अलपत्र छोडिदिने अवस्था भएन । अर्काे जिल्लाले छोड्दैन । सरकारको निर्णय छ । सडकमा राखिएका सवारी साधन र त्यसमा रहेका यात्रुहरुलाई कथम् कुनै दुर्घटना भयो भने त्यसबाट हुने मानवीय क्षति अकल्पनीय हुन्छ । विगतले त्यो पाठ सिकाएको पनि छ । त्यो भएर हामीले गन्तव्यमा पुर्याउन सक्नेलाई गन्तव्यमा पुयायौं र गन्तव्यमा पुर्याउन नसक्ने प्रकृतिका सवारी साधन र व्यक्तिहरु कतिपयलाई नारायणगढमै फर्काएका पनि छौं । होल्ड गरेर राखेका छौं । अन्य जिल्लाकालाई रोक्दिनुस् भनेर भनेका छौं । नारायणगढ प्रवेश गरेका सवारी साधनका केही यात्रुहरु नारायणगढ बजारमै छन् । अहिले ६ बजेदेखि लागू हुनेगरी सबै प्रकारका सवारी साधनहरु निषेध नै गरेका छौं ।’
होटल व्यवसायीका प्रतिनिधिसँग ‘यो विकल्पविहीन आग्रह हो’ भन्दै प्रजिअ अर्याल भन्दै थिए,‘तपाईंहरुको पहिचान यस्तै संकटको बेला हुने हो । अहिले लामो समय पनि होइन, अलिकति क्रिटिकल बेलामा तपाईंहरुले आफूलाई एक्सपोज गराउने र आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने बेला पनि हो । त्यसैका लागि होटल संघका साथीहरुलाई हामीले आग्रह गर्यौं । यसमा उद्योग वाणिज्य संघले संयोजन गरिदिनुपर्यो, होटल व्यवसायी संघका साथीहरुले यो विषयलाई सरकारले अथवा जिल्लाको सुरक्षा समितिले अलिकति इम्पोज्ड गर्यो भन्ने हिसाबले व्याख्या नगरिदिनुहोला । धेरै संख्या छैन । यहाँभित्र भएका मान्छेहरु, दशैं मनाउन गएका मान्छेहरु, फर्किंदा काठमाडौं पुग्छु भनेर बीचमा अलमलिरहेका केही मान्छेहरु छन्, ती मान्छेहरुलाई होटलमा बसाइदिनुपर्यो । आज, भोलि र पर्सि, तीन दिनका लागि । तपाईंहरुले नर्मल हिसाबले लिने फेयरको २५ प्रतिशत मात्रै लिएर मान्छे राखिदिनुपर्छ । यसमा कुनै पनि किसिमको कैफियत रहनुभएन ।’
सिडिओ अझ भन्दै गए,‘ठिक छ खानाको कुरा हामी भन्दैनौं, किनकि खानामा तपाईंहरुले सामान किन्नुपर्ने हुन्छ, किनेर सर्भ गनुपर्ने हुन्छ, तैपनि यो बेला म खानाको पनि पैसा लिन्नँ, होटलको २५ प्रतिशत मात्र लिन्छु भन्नुभयो भनेपनि तपाईंहरुको उदारतालाई हामी सम्मान नै गर्नेछौं । त्यो तपाईंहरुको कुरा भयो । हाम्रो आग्रह ७५ पर्सेन्ट फेयर छुटमा मान्छे राख्दिनुस् । यो सुरक्षा समितिको सिफारिसमा २५ प्रतिशत मात्र तिर्नेगरी बस्ने कस्टुमर भनेर फरक व्यवहार चाहिँ नहोस् फेरि ।’
उनले होटल व्यवसायीहरुलाई कडै रुपमा सम्झाउँदै भने,‘हामीले तपाईंकहाँ कतिजना मान्छे बसेको छ, को–को बसेको छ र ती मान्छेको प्रतिक्रिया के छ भन्ने पनि हेर्छाैं । १५ दिन भनेको होइन, एक हप्तासम्म राख्ने भनेको होइन, आज त फाटफुट्ट मान्छे होलान्, भोलि र पर्सि दुई रातको लागि तपाईंहरुले हामीलाई सहयोग गरिदिनुपर्छ । यसमा तपाईंहरुबाट हुन्छ भन्ने बाहेक हामी अरु प्रतिक्रिया लिँदैनौं ।’
यसपछि होटल व्यवसायी संघ, चितवनका अध्यक्ष लोकनाथ भट्टले आफूहरुले यस्ता काम विपद्मा पहिला पनि गरेको र अहिले पनि २५ प्रतिशत लिएर सेवा दिन सहमत रहेको बताए । ‘त्यो पनि परिस्थिति र व्यक्ति हेरेर लिउँला या नलिउँला । यो बेलामा सहयोग गर्न हामी तयार छौं’ भन्दै उनले आफ्नो र संघका उपाध्यक्षको मोबाइल नम्बर पनि टिपाएका थिए ।
फेरि सिडिओले सोधिहाले ‘फोकल पर्सन को हुनुहुन्छ यसको ? लिड कसले गर्नुहुन्छ ?’, भट्टले ‘लिड म गर्छु’ भनेपछि सिडिओले भने, ‘जनताले तपाईंलाई फोन गर्छन्, तपाईंले फलानो फलानो फलानो होटलमा जानुस् भन्नुपर्याे ।’
‘यतिबेला कुनै पनि शर्त राख्ने पक्षमा छैनौैं । हामी सहयोग गर्ने पक्षमा छौं’ भनेका होटल अध्यक्ष भट्टले पछि फेरि ‘प्राइभेट गाडीको हकमा चाहिँ ५० प्रतिशत गरौं न, उहाँहरु त खर्च गर्न नसक्ने होइन नि’ पनि भनेका थिए ।
यसपछि सिडिओ बोलिहाले,‘गाडी चढ्ने मान्छे सबै सम्पन्न हुन्छन् भन्ने होइन, यी त परिस्थितिको चपेटामा परेका मान्छे हुन् । हेर्नुस्, विवेक प्रयोग गर्नुस्, यो मान्छे अलपत्र परेको हो, गाडी बन्द भएको कारणले गर्दा नारायणगढमा बस्न बाध्य भएको हो भन्ने कुरा कन्फर्म गर्नुस्, राख्नुस् ।’
अनि प्रजिअ अर्यालले यो पनि भने कि,‘९० प्रतिशत मान्छे टिकट नलिई आएका छन् । टिकटको आधारमा मात्र भन्नुभयो भने यो निर्णय कार्यान्वयनमा तपाईंहरु प्रतिबद्ध हुनुहुन्न भन्ने अर्थ लाग्छ । यो चपाएर कुरा नगर्नुस् । कुरा क्लियर गर्नुपर्ने हुन्छ । यसको अनुगमन हामी गर्नेछौं फेरि । यदि तपाईंहरुले एग्री गरिसकेपछि तलमाथि भयो भने हामी कालोबजारी ऐनअन्तर्गत यही निर्णयको आधारमा कारबाही गर्छाैं । कि तपाईंले हुँदैन भन्नुस्, अहिल्यै कुरा क्लियर गर्नुस् ।’
उनले अझै थपे,‘अहिले ४०–५० वटा गाडी देखिएको छ । मान्छे पुरै मोटरसाइकलमा भिजेर निथ्रुक्क हुँदै आइराछ, गाडीवालाले पनि मान्छे लिएर आएको छ । पूर्वबाट आए, पश्चिमबाट आए तर हामी उता जान त दिँदैनौं । रोक्नुपर्छ हामीले क्षति न्यूनिकरण गर्नको लागि पनि । यसरी बीचमा होल्ड हुन बाध्य भएका सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरेर गराएको कुरा हो यो । यो हाम्रो पूर्वतयारी पनि हो । मान्छे यहाँ आइसकेपछि अलपत्र परेर कता जाम र के गरौं, खल्तीमा खासै पैसा छैन । अब कुन होटलमा जाने हो ? के गर्ने हो ? बिजोग भो भनेर मान्छे नआत्तियोस्, कमसेकम राज्य छ । म समस्यामा परें भनेपनि मलाई राज्यले चाहिँ सपोर्ट गरिराको छ भन्ने एउटा पोजिटिभ म्यासेज होस् । ’
यसैक्रममा जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी गोविन्द पुरीले थपे,‘हामी त अहिले फिल्डमा हेरेर आयौं नि त । धेरै मान्छे के भयो भने हामी लिमिटेड हिसाबले आएका थियौं, हामीसँग पैसा छैन, बीचमा अप्ठेरोमा परियो भन्ने गुनासो पनि आएपछि सिडिओ साबसँग कुरा भएर यो खाले प्रस्ताव गरेका हौं । सहर्ष स्वीकार्नुभएकोमा तपाईंहरु (होटल व्यवसायीहरु) लाई धन्यवाद पनि छ । आजबाट प्रहरी नै लगाएर मोनिटरिङचाहिँ हामी गर्छाैं । अहिले त्यति धेरै मान्छे त नहुन सक्छ भन्ने छ हाम्रो बुझाइमा । हामीले धेरैजसो गाडीहरुलाई व्यवस्थापन गर्ने काम त गरिराछौं, किनभने पठाउने पनि काम गर्यौं । कतिपयलाई इन गरेका छौं । तैपनि दुई–चार सय मान्छेचाहिँ होल्डमै छन् । आज त बसभन्दा बढी मोटरसाइकल छ ।’
‘मौसममा सुधार आएर आवागमन सहज नभएसम्म हामीचाहिँ जोखिम लिएर सवारी साधन पठाउनेवाला छैनौं’, छलफलको अन्त्यतिर सिडिओले भने,‘हामी के निष्कर्षमा पुगेका छौं भने आज, भोलि र पर्सि वा त्यसको भोलिपल्ट पनि हुनसक्छ, पहिरोको कारण बाटो अवरुद्ध भएर चितवन जिल्लाको मुग्लिन, नारायणगढ, टाँडी, सौराहालगायत विभिन्न ठाउँमा बस्न बाध्य हुने यात्रुहरुलाई होटल व्यवसायी साथीहरुले आजसम्म लिँदै आएको कोठा भाडामा छुट दिने भन्ने कुरा हामीले प्रस्ताव राख्यौं । साथीहरु त्यो प्रस्तावमा सहमत हुनुभएको छ ।’
चितवन होटल व्यवसायी संघअन्तर्गत मोटामोटी तीन सय होटल रहेको बताइन्छ । त्यसमा १२–१५ सय जना हाराहारी अट्ने क्षमता रहेको अध्यक्ष भट्ट बताउँछन् । उनका अनुसार सामान्यतया एउटा कोठाको शुल्क एक हजार रुपैयाँदेखि माथि नै लिने गरिएको छ । सिडिओ कार्यालयमा हिजो साँझ करिब एक घन्टा भएको छलफलले फोकल पर्सनको रुपमा संघका अध्यक्ष भट्ट (कृष्ण) (मो.नं. ९८५५०१४१८०) लाई तोकेको छ ।
टिप्पणीहरू