ट्रष्टको जग्गामा नगरपालिकाको मनोमानी
भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरको स्वामित्व नेपाल ट्रष्टको नाममा छ । तर, सो जग्गाबाट वर्षेनी मनग्गे आम्दानी भए पनि त्यो सबै काम नगरपालिकाको खातामा जम्मा हुने गरेको अनौठो चलन छ ।
वडा नम्बर–१ मा रहेको यो जग्गा पहिले राजपरिवारको थियो । स्थानीयले खेतीपाती गर्दै आएको उक्त जग्गा वि.संं. २०२४ सालमा तत्कालीन राजा महेन्द्रले खरिद गरेको बताइन्छ । प्रति रोपनी एक हजार रुपैयाँ दरमा १०८ रोपनी जग्गा किनिएकोमा अहिले करिब ७०–७५ रोपनी मात्र बाँकी छ । अतिक्रमणमा परेको उक्त जग्गामा व्यक्तिहरुले पक्की निवास बनाइसकेका छन् । ती कब्जाधारीलाई भक्तपुर नगरपालिकामा सीमित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले संरक्षण गरेको आरोप स्थानीयको छ ।
नेमकिपाको योजना, ट्रष्टको मौनता
नेमकिपाले बाँकी जग्गामा ख्वपः विश्वविद्यालय बनाउने बताएको छ। २०६३ सालपछि राजतन्त्र अन्त्य भई राजपरिवारको सम्पत्ति नेपाल सरकार मातहत ल्याएर ‘नेपाल ट्रष्ट’ मार्फत राष्ट्रहितमा प्रयोग गर्ने व्यवस्था गरियो । तर, ट्रष्टको नाममा आएको जग्गा कति, कहाँ र कसरी प्रयोग भइरहेको छ भन्नेबारे सम्बन्धित निकाय बेखबर देखिन्छ ।

नगरपालिकाको कमाई
चौर कहिल्यै पनि खाली देखिँदैन । दशैं–तिहारमा च्याङ्ग्रा र खसी बिक्रीका लागि पाल टाँगिन्छ। केही दिनअघि स्कुटर एक्सपो भएको थियो। बेलाबेलामा मेला, कन्सर्टदेखि राजनीतिक दलका कार्यक्रमसमेत त्यहीँ हुने गरेको छ ।
नगरपालिकाले प्रत्येक छाप्रो वा व्यावसायिक प्रयोगको आधारमा दिनहुँ २० हजारदेखि ७५ हजार रुपैयाँ शुल्कवापत उठाउने गरेको बुझिएको छ। व्यापारीहरु भन्छन्—‘च्याङ्ग्रा बिके पनि नबिके पनि भाडा तिर्नैपर्छ, तर कुनै सुविधा छैन।’
नगरपालिकाले यो ‘भाडा नभई कर’ भएको दाबी गरेको छ । कर उपशाखाका उपनिर्देशक प्रभाषकुमार चालिसे भन्छन्, ‘व्यावसायिक कर उठाइएको हो, जग्गा भाडामा लगाइएको होइन।’

ड्राइभिङ सेन्टरदेखि करातेसम्म
उक्त जग्गामा कराते सिकाइन्छ। विभिन्न ड्राइभिङ सेन्टरले कार–मोटरसाइकल सिकाउने गरेका छन्। विदेश जानेहरुले हेभी गाडी चलाउन पनि त्यहीँ प्रशिक्षण लिन्छन्। यी सबैबाट उठेको रकम नगरपालिकाको खातामा जाने गर्छ, तर ट्रष्टको हात सँधै खाली हुने गरेको छ।
संरक्षणका नाममा पर्खाल
नगरपालिकाले जग्गा वरपर इँटाको पर्खाल लगाएको छ। तर अन्य कुनै संरक्षण वा व्यवस्थापन गरेको देखिँदैन । चौर झार, फोहोरले अस्तव्यस्त देखिन्छ। केही दिनअघि वडाले सोही चौरको माटो खनेर अन्यत्र पठाएको स्थानीयको आरोप छ।
वडाध्यक्ष श्यामकृष्ण खत्री भन्छन्, ‘बोडेमा पहिरो गएको ठाउँमा माटो पु¥याएर सहयोग गरिएको हो।’ तर, ट्रष्टको स्वीकृति बिना माटो लगिएको बुझिएको छ ।

निष्कर्ष
नेपाल ट्रष्टको नाममा रहेको सम्पत्तिबाट स्थानीय पालिकाले ठूलो आम्दानी गरिरहँदा ट्रष्ट भने मुकदर्शक बसेको छ। स्वामित्व ट्रष्टको भए पनि उपयोग र कमाई नगरपालिकाले कब्जा गरेको यो घटनाले नेपाल ट्रष्टको भूमिकामाथि गम्भीर प्रश्न अवश्य उठाएको छ।
टिप्पणीहरू