स्रोत, साधनको चिन्ता नगर्नू : प्रधानमन्त्री
चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन्।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे प्रधानमन्त्री कार्कीले आज आयोगका आयुक्तहरूबाट विस्तृत ब्रिफिङ लिएकी हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा प्रधानमन्त्रीले निर्वाचनका लागि आवश्यक सबै स्रोत र साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी बताइएको छ।
निर्वाचनका लागि आवश्यक जनशक्ति, स्रोत र साधनको आँकलन गरी त्यसको प्रक्षेपणबारे आयोगले प्रधानमन्त्रीलाई जानकारी गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। उनका अनुसार आयोगले आवश्यक स्रोत र साधनका लागि सरकारसँग सहयोग र व्यवस्था मिलाइदिन अनुरोध गरेको हो ।
भट्टराईका शब्दमा, ‘निर्वाचनका लागि आवश्यक जनशक्ति, स्रोत र साधनको प्रक्षेपण तयार गरिएको छ र त्यसका लागि सरकारले उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।’ छलफलमा आयोगका पदाधिकारीहरूले निर्वाचन तयारीको कार्यप्रगति र कार्ययोजना प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।
भट्टराईका अनुसार आगामी दिनमा निर्वाचनसँग सम्बन्धित सरोकारवालासँगको समन्वय, सहकार्य र संवादलाई थप सुदृढ बनाइने, हरेक नागरिकलाई निर्वाचन प्रक्रियामा सहभागी गराउने र निर्वाचन सफल बनाउन संयुक्त प्रयास अघि बढाइने समझदारी भएको छ। उनले आजको बैठकले निर्वाचन तयारीमा “महत्त्वपूर्ण इँटा थपिएको” विश्वास व्यक्त गरे।
टिप्पणीहरू