सबै श्रेणीहरू

एक महिनापछि सार्वजनिक भए लेखक, गोली चलाउन आदेश नदिएको दावी

एक महिनापछि सार्वजनिक भए लेखक, गोली चलाउन आदेश नदिएको दावी

नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले जेन-जी प्रदर्शनको क्रममा आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको प्रष्टीकरण दिएका छन् । 

एक महिनापछि आज सार्वजनिक भएका उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूले गोली हान्न आदेश नदिएको दावी गरेका हुन् । आइतबार काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । त्यसअघि बैठकको एजेण्डा तय गर्न छलफलका लागि सानेपास्थित केन्द्रीय कार्यालय पुगेका लेखकलाई सञ्चारकर्मीले घेरेर प्रश्न तेर्साएका थिए । 

सबैभन्दा पहिले लेखकले जेन-जी प्रदर्शनमा ‘प्रधानमन्त्री र गृहमन्त्रीले गोली चलाउन आदेश दिएको’ भन्ने भाष्य बनाइएकोमा आपत्ति जनाउँदै खण्डन गरे । 

‘अहिले प्रधानमन्त्री र गृहमन्त्रीले प्रहरीलाई गोली चलाउन आदेश दियो भनेर चर्चा गरिराख्या छन्, तर सत्य होइन’, लेखकले भने, ‘के जानकारी गराउन चाहन्छु भने प्रहरीलाई गोली चलाउन प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दिने विषय नै हुँदैन, मिल्दैन, मैले कुनै त्यस्तो आदेश दिएको छैन, जहाँसम्म लाग्छ तत्कालीन प्रधानमन्त्रीज्यूबाट पनि त्यस्तो कुनै आदेश भएको छैन ।’

लेखकले जेन-जी प्रदर्शनमा घुसपैठ भएको दावी गर्दै स्वार्थ समूहहरुको परिचय विस्तारै खुल्दै जाने विश्वास व्यक्त गरे । गुप्तचरले तपाईलाई घुसपैठ हुनसक्ने कुनै सूचना दिएन ? भन्ने प्रश्नमा उनले भने, ‘मैले प्राप्त गरेका सूचनाहरु म केही दिनपछि भनुलाँ, तर अहिले के भन्न चाहन्छु भने जेनजी युवाहरुले असल माग राखेर आन्दोलन गरेका थिए, तर दुर्भाग्यवश घुसपैठ भयो, अत्यन्त दुखद र पीडादायी घटना भयो ।’

सुशीला कार्की नेतृत्वको सरकारले पक्राउ गर्न लागेको भन्ने प्रसंग औल्याउँदै लेखकले अहिलेको परिस्थितिमा सरकार, जाँचबुझ आयोग र राजनीतिक दलहरु पूर्वाग्रह र प्रतिशोधको भावनाभन्दा माथि उठेर जिम्मेवार बन्नुपर्ने बताए । 

प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले थपे, ‘अहिले देश निकै जटिल अवस्थामा छ, यस्तो अवस्थामा सरकार र आयोगले संविधान, लोकतन्त्र र जनताको भावनालाई सम्बोधन गर्नेगरी काम गर्नुपर्छ, प्रतिशोधको भावनाभन्दा माथि उठेर सोच्नुपर्छ, राजनीतिक दलहरु पनि संयम भएर अघि बढ्नुपर्छ ।’