कसले भन्छ ‘किलो फोर’, ‘अपरेसन अफिसर’,‘पुलिस कमाण्डर’ ?
प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ आगामी महिना अवकाशमा जाँदैछन् । उनी घर फर्किने दिन नजिकिँदै गर्दा संगठनभित्र नयाँ आइजिपी बन्ने दौडमा विभिन्न खेल देखिन थालेको छ । वरिष्ठ प्रहरी अधिकारीहरूबीच चलेको आरोप–प्रत्यारोपलाई राजनीतिक संक्रमणको असर भन्न थालिएको छ ।
वरिष्ठ भएकाले भावी आईजीपीमा दानबहादुर कार्कीलाई प्रमुख दाबेदार मानिएको छ । तर बढुवाकै मुखमा उनलाई विभिन्न विवादमा तान्न खोजेको पाइएको छ । सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई भदौ २४ गतेको विध्वंशमा जेलबाट निकाल्न कार्कीले भूमिका खेलेको भनी छताछुल्ल पारिएको उजुरीका भाषा हेर्दा सहज लाग्दैन ।
रवि नक्कली कागजात र आफ्ना नेता तथा उग्र भीडको आडमा कारागारबाट निस्किएको चार दिनमा फर्केपछि प्रमाणित भइसकेको छ । उनलाई त्यसदिनको विध्वंशमा जेलबाट निकाल्न मुख्यसचिव एकनारायण अर्याल,गृहसचिव गोकर्णमणि दवाडी र एआईजी कार्कीको भूमिका रहेको दाबीसहित गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमा उजुरी दर्ता गराइएको थियो ।
गृह स्रोतका अनुसार उक्त उजुरी संगठनभित्रकै अर्को समूहले कार्कीलाई आईजीपी बन्नबाट रोक्ने उद्देश्यले तयार पारेको हो । स्रोतका शब्दमा, ‘यो संगठनभित्रैको खेल हो,उनलाई आइजीपी बन्न नदिनका लागि । देश संकटपूर्ण अवस्थामा छ, सबै मिलेर काम गर्नुपर्ने बेला उल्टै अनेक खेल भइरहेको छ।”
छानबिन आयोगमा परेको छ पृष्ठ लामो उजुरीमा ‘किलो फोर’, ‘अपरेसन अफिसर’, ‘पुलिस कमाण्डर’ जस्ता शब्दहरू प्रयोग गरिएका छन् । जुन सामान्यतयाः प्रहरीले प्रयोग गर्ने शब्द हुन् । उजुरीमा ‘कल डिटेल रिपोर्ट (सिडिआर)’ पनि भनिएको छ, तर त्यो कसको अनुमति र स्रोतबाट निकालियो भन्ने खुलाइएको देखिँदैन ।
त्यसैगरी, उजुरीमा प्रयोग गरिएको हस्ताक्षर पनि नक्कली भएको स्रोतको दावी छ। ‘उजुरी अत्यन्तै शंकास्पद छ। प्रयोग भएका शब्द परम्परागत शैलीमा छन्,हस्ताक्षर पनि नक्कली देखिन्छ,’ स्रोतले भन्यो।
टिप्पणीहरू