नयाँ विवादमा बालेन, ‘युगकै खतरनाक’ कविता !
सैद्धान्तिक रूपमा गद्य र पद्य भनेर वर्गीकरण गरिए पनि कविता मूलतः स्रष्टाको विचार, अनुभव र लेखाइमा निर्भर हुन्छ । आकर्षक शिल्प र उपयुक्त विम्बको प्रयोगले नै कवितालाई सुन्दर बनाउँछ । लक्ष्मीप्रसाद देवकोटा, भूपि शेरचन, मोहन कोइराला हुँदै माधवप्रसाद घिमिरे र वैरागी काइँलासम्मका कविहरूले कवितामा आफ्नै क्राफ्ट बनाएका छन् । उनीहरूले कवितामा उठाएका विषय वा प्रयोग गरेका विम्बले कुनै समुदायको अपमान गरेका उदाहरण भेटिँदैन ।
तर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कविताको एउटा विम्बले अहिले नेपाली साहित्य र सामाजिक मञ्चमा तरंग ल्याएको छ । आफूलाई र्यापर र कवि बताउने बालेनले किसानलाई ‘फोहोरी’ भनेपछि आलोचना चर्किएको हो ।
लोकप्रियतावादको पर्याय मानिने बालेनले जेन जी आन्दोलनपछि लागेका विभिन्न आरोपहरूको प्रतिवादस्वरूप कविता लेखेको अर्थ लगाइएको छ । उक्त कवितामा उनले आफूमाथि लागेका आरोपहरू निराधार भएको र ‘किसानझैँ फोहोरी’ मानसिकताका व्यक्तिहरूले भ्रामक खबर फैलाएको आशय व्यक्त गरिएको धेरैको बुझाइ छ । तर बालेनले किसानलाई ‘फोहोरी’ को संज्ञा दिँदा चल्तीका लेखक र कविहरू समेत असन्तुष्ट देखिन्छन् ।
कवि तथा समीक्षकहरूले बालेनको उनको हिजोको कवितालाई तानाशाही र निरंकुश मानसिकताको प्रदर्शन भनेका छन् । कवि हेमन यात्रीले प्रश्न गरेका छन्, “किसानलाई ‘फोहोरी किसानझैँ’को रूपमा बिम्बित गरेर उनले किसानको कर्मको मूल्यलाई सम्मान गरे कि अपमान?” अगाडि थपे, “फोहोरी किसानका विम्बमार्फत् हामीले किसानका कुन पक्षको एड्भोकेसी गर्न खोजिरहेका छौं?”
कवि देव व्रतले यसलाई बालेनको वास्तविक मानसिकताको उपज मानेका छन् । उनका अनुसार कविताले बालेनले गरिब, किसान, भुइँमान्छे र सीमान्तकृत वर्गप्रति राखेको दृष्टिकोण स्पष्ट देखाउँछ । उनले व्यङ्ग्य गर्दै भनेका छन्, “मजदुरहरूले काठमाडौं कुरूप बनाएका थिए । मेयरको कार्यकालमै सबै मजदुर र भुइँमान्छेलाई थानकोट कटाउनुपर्छ । अनि प्रधानमन्त्री बनेर देशभरका ‘फोहोरी किसान’हरू लखेट्नुपर्छ ।”
कवि सुमिनाको मत फरक छ । उनले बालेनको कविता “बहस गर्न लायक सिर्जना नै होइन” भन्दै लेखेकी छन्, “काव्यचेतका हिसाबले पनि ‘जलझैँ शीतल, फूलझैँ कोमल, सुन न पित्तल’ भन्दै आउँदा ‘किसानझैँ फोहोरी’ भन्ने हरफ विभेदकारीभन्दा पनि असान्दर्भिक छ । यस्तो चुट्किला–जस्तो हरफलाई युगकै खतरनाक कविता ठहराउँदै बहसमा ल्याइनु आफैंमा कवितामाथिको मजाक हो ।”
रोचक पक्षको रुपमा बालेनले हिजो फेसबुकमा पोष्ट गरेको कविता एक वर्षअघि पनि पोष्टाएका थिए । त्यतिबेला कवि सोझो गाउँलेले उक्त कविता, कविता नै नभएको टिप्पणी गरेका थिए । तर बालेनका समर्थकहरु भने गाउँलेमाथि नै खनिएका थिए ।
‘त्यतिबेला नै मैले यो कविता कविताजस्तो छैन भनेको थिएँ, तर ममाथि नै साइबर आक्रमण भयो’, गाउँलेले भने, ‘अहिले त्यही कविता चर्चामा छ, र फेरि पनि भन्छु, यो कविता नै होइन ।’
अर्का कवि नारायण सापकोटाले झन् बालेनलाई कविताबाटै जवाफ दिएको देखिन्छ । भनेका छन्-
‘परालको लठ्ठी टेकेर उभिएकाहरुले
आकाश थामेको भन्दैछन्
आकाश भने
विशाल, अनन्त र शून्य छ
मन जलेको छ
समयको आँधी, हुरी र तुफानीले
खरानी भएको छ देश ।’
कवि विमल पोखरेलले झन् व्यङ्ग्यात्मक टिप्पणी गर्दै भने, “यो न र्यापजस्तो देखियो, न कविताजस्तो । गाँजा खाएर लेखिने कविता यस्तै हुन्छ !”
उता, नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले पनि बालेनलाई उक्त कविता सामाजिक सञ्जालबाट हटाउन चेतावनी दिएको छ । महासंघको ठहरमा, किसानलाई ‘फोहोरी’को रूपमा चित्रण गरेर बालेनले तानाशाही प्रवृत्ति देखाएको भनिएको छ ।
टिप्पणीहरू