झिलिमिली बत्ती नबाल्न र द्यौसी–भैलो नखेल्न आग्रह

झिलिमिली बत्ती नबाल्न र द्यौसी–भैलो नखेल्न आग्रह

द्यौसी–भैलो र झिलिमिली बत्तीको तयारीमा जुटेका नागरिकलाई भरतपुर महानगरपालिका–१२ नम्बर वडा कार्यालयले यस वर्ष तिहार सरल र संयमित रूपमा मनाउन आग्रह गरेको छ।

वडाले तिहारमा झिलिमिली बत्ती नबाल्न र द्यौसी–भैलो नखेल्न लेखी सूचना जारी गरेको छ। वडाध्यक्ष लेखराज पन्तको हस्ताक्षर रहेको पत्रमा भनिएको छ,“गत भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनले देशलाई गहिरो शोक र पीडामा डुबाएको छ। आन्दोलनका क्रममा ७८ निर्दोष नागरिकले सहादत प्राप्त गरेका छन् भने हजारौं घाइते छन्। तोडफोड र आगजनीका कारण देश अहिले गम्भीर अवस्थाबाट गुज्रिरहेको छ।”

पत्रमा राष्ट्रका वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस वर्षको तिहारलाई सरल, मर्यादित र संयमित रूपमा मनाउन आग्रह गरिएको छ। “यस २०८२ सालको तिहारमा वडाभित्र झिलिमिली बत्ती, अत्यधिक सजावट नगर्नुका साथै देउसी–भैलो पनि नखेल्न अनुरोध गर्दछौं,” पत्रमा भनिएको छ।

“त्यसको सट्टा घर–आँगनमा एक दियो बाल्दै सहिद आत्माप्रति श्रद्धाञ्जली अर्पण गरौं, जसले राष्ट्रिय एकता र कृतज्ञताको सन्देश दिनेछ।” पत्रमा ‘यस तिहारमा उज्यालो हृदयमा बालौं, तर घरमा झिलिमिली बत्ती नबालौं’ भन्ने वाक्यांशले धेरैको ध्यान तानेको छ।

सो सूचना वडाका सम्पूर्ण टोल विकास संस्था, आमा समूह, युवा समूह र संघ–संस्थालाई पठाइएको उल्लेख छ। तर, सो निर्णयको आलोचना पनि शुरु भएको छ। भरतपुरकै नागरिक अजित अधिकारीले उक्त सूचना जिल्ला प्रशासन कार्यालय र पत्रकार समूहको ह्वाट्सअप समूहमा शेयर गर्दै लेखेका छन् —
“देउसी–भैलो नखेल्न भन्नु हास्यास्पद निर्णय हो। दशैं–तिहार, छठ हाम्रा महान् पर्व हुन्। यस्तो प्रतिबन्ध लगाउने अधिकार कसैलाई छैन। बरु देउसी–भैलोबाट उठेको रकमले हालैका आन्दोलनमा क्षतिग्रस्त संरचनाको मर्मत गर्न सकिन्छ।”

भरतपुर महानगरपालिकाले भने वडाको यस्तो निर्णयबारे आफूलाई जानकारी नभएको र महानगरबाट आधिकारिक रूपमा निर्देशन नआएको स्पष्ट पारेको छ।

यसबारे प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, “संस्कार र संस्कृतिमा त्यसरी अंकुश लगाउन मिल्दैन। मर्यादित र अनुशासित रूपमा चाडपर्व मनाउने हाम्रो सुरक्षा योजना छ। तर बत्ती नबाल्ने वा भैलो नखेल्ने तहको निर्णय आवश्यक छैन।”

उनका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले भोलि तिहार सम्बन्धी आधिकारिक सूचना सार्वजनिक गर्ने तयारी गरेको छ। “संवेदनशील अवस्थामा मर्यादित र अनुशासित उत्सव मनाउने कुरा ठीक हो, तर संस्कृतिमाथि अंकुश लगाउने दिशा ठीक होइन,” अर्यालले भने।

टिप्पणीहरू