देउसी-भैलोको निर्णय सच्याएर अर्को सूचना

देउसी-भैलोको निर्णय सच्याएर अर्को सूचना

चितवनमा दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा गरिने द्यौसीभैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु राति १० बजेसम्म मात्र गर्न पाइने भएको छ । पछिल्लो समय जेन जी विध्वंश र विभिन्न विपद्हरुले सिंगो देश गहिरो शोकमा परिरहेको अवस्थामा भरतपुर महानगरपालिका, १२ नम्बर वडा कार्यालयबाट गत सोमबार वडामा ‘झिलीमिली बत्ती नहाल्ने सम्बन्धमा’ भएको पत्राचारमा अहिलेको परिस्थितिमा द्यौसीभैलो समेत नखेल्न गरिएको आग्रह आलोचित भएपछि वडाध्यक्ष लेखराज पन्तले त्यसमा संशोधन गरिने बताए ।

झिलिमिली नबाल्ने वडाको निर्णयपछि विद्युतीय सामग्री व्यवसायीहरुको १५/२० जनाको टोली समेत वडा कार्यालय पुगेको थियो । अस्ति वडाध्यक्ष भन्दै थिए, ‘द्यौसी भैलोको विषयमा समेत तडकभडक नगरीकन खेल्न भन्ने तरिकाले गर्नुपर्ने रैछ ।’ यी दुवै विषयमा सूचना संशोधन गरिने उनको भनाई छ ।

जनआस्थाको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि भने, ‘संस्कार र संस्कृतिलाई त कहाँ त्यसरी अंकुश लाउन मिल्छ र ? तिहार र द्यौसीभैलो भनेको त अन्योश्रित सम्बन्ध भएका कुरा भए । कसरी मर्यादित, व्यवस्थित र अनुशासित बनाउन सकिन्छ भन्ने कुरालाई मध्यनजर गरेर भोलि हामी सूचना निकाल्छौं । हामीसँग चाडपर्व लक्षित सुरक्षा योजना छ । भोलि जिल्ला सुरक्षा समितिको बैठक बोलाएको छु ।’

सोही अनुसार हिजो बसेको जिल्ला सुरक्षा समिति बैठकको निर्णयले आसन्न दीपावली लगायतका पर्वहरुलाई अनुशासित मर्यादित एवम् मौलिक रुपमा मनाउने सन्दर्भमा प्रचलित कानुनले बर्जित गरेका जुवातास, लङ्गुरबुर्जा तथा समाजमा आतङ्क सिर्जना गर्ने भूइँचम्पा, पटका, आतिशबाजी सामग्रीको प्रयोग तथा बिक्री वितरणमा समेत रोक लगाएको जनाइएको छ । 

प्लाष्टिकका फूल, मालाको प्रयोग तथा बिक्रीवितरण नगर्न/नगराउन भनिएको छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मिसावट, अस्वभाविक मूल्यवृद्धि तथा म्याद गुज्रेका सामग्री/वस्तुहरुको प्रयोग एवम् बिक्रीवितरण पनि चाडबाडको मौकामा निकै हुन सक्ने हुँदा उपभोक्ता स्वयम् पनि सचेत हुन जरुरी रहेको भनिएको छ । 

सार्वजनिक स्थलहरुमा मापसे, लापसे गर्ने जस्ता कार्यहरु पूर्णरुपमा प्रतिबन्धित रहेको तथ्यतर्फ पनि सजग गराइएको छ । सवारी साधनहरुमा जोखिमपूर्ण यात्रा गर्ने/गराउने, यात्रुसँग बढी भाडा लिने कार्य कानुन विपरीतका कार्य हुन् भन्ने पनि सूचनामा स्मरण गराइएको छ ।

टिप्पणीहरू