पर्खाल भत्किँदा हताहती, के–कतिमा सहमति?
जिल्ला प्रहरी कार्यालय चितवनमा रत्ननगरको साना किसान दाना उद्योगमा पर्खाल भत्केर भएको मानवीय क्षतिको विषयमा पीडित र मालिक पक्षबीच छलफल आज अबेर टुंगिएको छ । हिजो उद्योगको पर्खाल भत्कँदा पाँचजना कामदार घाइते भएका थिए, जसमा तीनजनाको ज्यान गएको थियो । दुईजना घाइतेहरू आज डिस्चार्जको क्रममा रहेका छन् । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखेर छलफल चलाइएको थियो । प्रहरी कार्यालयमा पीडित पक्षको चित्त बुझ्ने गरी आज साँझ सहमति जुटेपछि मृतकको शव परिवारले बुझ्ने भएका छन् ।
हिजो बिहान १० बज्नै लाग्दा उक्त उद्योगको दाना नं. ४ को वाल भत्कँदा चितवनकै खैरहनी–२ का ४५ वर्षीय शुकराम दराई, गोरखा घरभई रत्ननगर–१२ बस्ने ५४ वर्षीय रेशम दमाई र पर्सा घरभई रत्ननगर–१२ मै बस्ने ४५ वर्षीय कमल गुरुङ तीनजनाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा एकघन्टा भित्रै ज्यान गएको थियो । पर्सा घरभई रत्ननगर–१२ बस्ने वर्ष लगभग ३९ का जितेन्द्र महतो र अर्को ४० वर्षीय अंकजप्रसाद थारु मध्यम घाइते भएका थिए ।
यसमा कम्पनीको तर्फबाट उचित क्षतिपूर्तिसहित अन्य कानुनी प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिनुभयो । कम्पनीमा काम गर्ने क्रममा मृत्यु भएको हुँदा घटनाको सत्यतथ्य छानबिनको मागसमेत गरिएको छ । पीडित कामदारका सन्ततिको पढाइ, परिवारको पालनपोषण र रोजगारीको लागि कम्पनी व्यवस्थापन पक्ष सकारात्मक रहेको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास भट्ट स्वयं हिजोदेखि छलफलमा यतै खटिएर आज सहमति जुटाइएको हो । रत्ननगरका स्थानीय तथा पीडित आफन्तजन आज पनि ठूलो संख्यामा जिल्ला प्रहरी कार्यालय वरिपरि देखिएका थिए । सहमतिका विषयमा प्रहरी कार्यालय भित्र र बाहिरसमेत व्यापक छलफल भएको थियो । दुई पक्षको आन्तरिक सहमति अनुसार मृतकको परिवारलाई प्रतिव्यक्ति १४ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन कम्पनी सहमत भएको बुझिएको छ ।
टिप्पणीहरू