धेरै रोचक प्रसङ्ग समेटिएको "त्यो झापा"
"त्यो झापा" किताबवारे अनेकौं चर्चा शुरु भएको छ । साना साना भूगोलको पनि इतिहास लेख्न सकिन्छ भन्ने मान्यताको सूत्रधार मानिएका पत्रकार तथा लेखक तीर्थ सिग्देलको भर्खरै प्रकाशित पुस्तकले पूर्वको इतिहास बुझ्न सजिलो बनाइदिएको छ ।
खासगरी लेखनमा कमै अभ्यास गरिएको स्थानीय क्षेत्रको इतिहास उत्खनन गर्ने उनको शैली लोकप्रिय मानिन्छ । आठ वर्षअघि नै उनैको पूर्वको राजनीति भन्ने किताब आएको थियो भने २०८० सालमा बिर्तामोडः उद्भव र विकास निस्केको थियो । यसै परिधिभित्र रहेर भर्खरै प्रकाशित त्यो झापा नामक किताबको बारेमा यहाँ केही चर्चा गरिएको छ ।
इतिहास बिधामा कलम चलाउन गाह्रो मानिन्छ । अझ अप्राप्य इतिहासमा गहन खोज उत्ति नै गाह्रो । त्यसमा पनि साना साना भूगोलको इतिहास उत्खनन अझै अप्ठेरो । यो लेखकीय अनुभवको कुरा होला तर झापा भन्नेबित्तिकै कतिपयले बिबादका शृङ्खला र अनेकन् नचाहिँदा हल्लाले गाँजेको पाइन्छ । यद्यपि त्यो बिषय क्षणिक र लोकरिझाइँको मात्र हो । खासमा झापासँग अनेक बिशेषता छन् । यस भूगोलको धेरै लामो इतिहास छ।
महाभारतकालदेखि बिराटकालीन समयका अवशेषहरुदेखि राणाकालीन सम्झना संगालेको यो भूगोललाई बि.सं. १९७२ पछि आएर झापा नाम दिइयो । लेखक सिग्देलले त्यो झापामा झापाको जन्मदेखि यसको गठनका उद्देश्य अनि तत्कालीन परिवेशको चित्रण गरेका छन् । अझ भनौं लुकेका,हराएका अनि नखोजिएका पात्रहरु,जसले एउटा कालखण्डमा यो भूगोल बनाउन योगदान गरेका थिए,ती मानिसका कथा र व्यथा समेटेका छन् ।
औलोकालीन त्यो समय अनि त्रासदी । मानिसहरुका भोगाइ र पीडा । बसाइँसराई अनि कष्ठकर यात्रा । पहाडी जनजीवनका व्यथा,अनुभव र संकट । भूमिमाथिको अधिकारको सवाल र भूमिसुधारको सरकारी प्रयास । आदिवासी भूमिपुत्रहरुले पालनपोषण गरेको भूगोल र उनीहरुको जनजीवन । एक डेढसय वर्ष अघिको समाज, परिवेश र रहनसहन । चोरी,डकैती, जंगली जीवजन्तुको आक्रमण अनि खाद्यान्न संकट । तत्कालीन सरकारी नीतिबाट प्रताडित मानिसहरुले जंगल आवाद गराउँदा भोगेका पीडा । अझै भन्दा झोडा फाँड्नेहरुको दुःख अनि बसोबासको समस्या ।
यसप्रकारका कथाहरु यो किताबको परिधि हो । जुन बिषय आजका लागि सर्वथा नौलो लाग्छ । अनि अचम्म पनि । आजको सहजतामा हिजोको असहज अवस्था सोच्नै नसकिने खालको थियो । लेखक भन्छन्,विगत गर्व गर्न लायक बिषय हो र भविष्य आशा जगाउने । वर्तमान त भोग्ने मात्र हो ।
यसै भनाईलाई आधार मान्ने हो भने यस किताबमा यस्ता धेरै गर्व गर्न लायक बिषयहरु समेटिएका छन् कि एक समयमा त्यो पुस्ताले कसरी जीविका चलाए र आफ्ना सन्ततिको रक्षा कसरी गरे ? मानिसलाई वर्तमानले संघर्ष र भविष्यले आशा जगाउँछ । त्यही आशाको त्यान्द्रो बोकेर पूर्वी पहाडबाट मानिसहरु तराई झरे । पहाडको खाद्य संकट अनि द्वन्द्वको चपेटाले उनीहरुलाई थातथलो छोड्न बाध्य बनायो । त्यही समयमा तराई बस्न लायक बनाउन आवादी खुल्ला गर्ने सरकारी नीति आयो । त्यसले पनि मानिसहरुलाई तराईले आकर्षित गर्यो ।
इतिहासको खोज अनि सर्वथा नौलो बिषयमा लेखिएको यो किताबले इतिहासतिर फर्कन सहजता हुने र शैक्षिक क्षेत्रको गहन अध्ययन गर्न चाहनेहरुका लागि निक्कै उपयोगी किताब हो यो । स्कूल,कलेजतिर आफ्नो भूगोलबारे बिद्यार्थीलाई बुझाउन र इतिहास पढाउन शिक्षकहरुलाई पनि धेरै काम लाग्ने किताब मानिन्छ यसलाई ।
टिप्पणीहरू