रवि-पत्नी निकिताको बर्थडे सेलिब्रेसन फाइभ स्टार होटलमा

रवि-पत्नी निकिताको बर्थडे सेलिब्रेसन फाइभ स्टार होटलमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलको जन्मदिन फाइभ स्टार होटलमा मनाउने भएका छन् । 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा मुद्दा खेपिरहेका उनले श्रीमतीको जन्मदिन होटल पोखरा ग्राण्डीमा सेलिब्रेट गर्न लागेका हुन् । उच्च अदालतमा तारिख बुझ्नका लागि लामिछाने दम्पती आज बिहान बुद्ध एअरको उडान नम्बर बिएचए १६५५ को जहाजबाट पोखरा पुगेका थिए । 

रविले जिल्ला प्रहरी कार्यालय कास्कीको थुनुवा विश्राम कक्ष अगाडि पत्नी निकितासँगै उभिएको फोटो फेसबुकमा राखेर जन्मदिनको शुभकामना दिएका छन् । गत वर्ष प्रहरीको आँखा छलेर फटाफट दियो बाली दही खुवाएर शुभकामना दिनुपरेको तर यसपाली त्यस्तो अवस्था नरहेको पनि खुलाएका छन् । 

उनले पोखराको बिरौटामा रहेको होटल ग्राण्डीमा निकिताको जन्मदिन मनाउन विशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ । 

रविविरुद्ध सहकारी ठगी मुद्दाको अर्को पेशी माघ २९ गते रहेको छ । गत वर्ष चैत २५ गतेदेखि कारागारमा रहेका रवि पुस ३ गते थुनामुक्त भएका हुन् । 

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई 'अग्रिम जमानत'को विशेष सुविधाअन्तर्गत थुनामुक्तीको आदेश दिएको थियो ।

टिप्पणीहरू