निजामतिको गेटमा नर्सहरूको धर्ना
निजामती कर्मचारी अस्पतालका नर्सहरू आन्दोलनमा उत्रिएका छन् ।
सेवा-सुविधा वृद्धिलगायत विभिन्न माग राख्दै उनीहरूले आज मीनभवनस्थित अस्पतालको मूल गेटमा आज धर्ना दिएका हुन् । नेपाल नर्सिङ संघले अघि सारेको १५ बुँदे मागमा ऐक्यवद्धता जनाउन आजदेखि धर्ना थालेको नर्सहरूको भनाइ छ ।
योग्यता र अनुभवको आधारमा पारिश्रमिक दिने व्यवस्था गर्न सरकारलाई दबाब दिने उद्धेश्यसहित आन्दोलनमा आएको एक नर्सले बताएकी छन् । उनले भनिन्, ‘चौबिसै घण्टा सेवा दिने हामीहरू आवश्यक सेवा लिनबाट वञ्चित छौं । र जुन माग नेपाल नर्सिङ संघले मागेको छ नेपाल सरकारसँग । सबैलाई आवश्यक सेवा सुविधा हुनुपर्छ भनेर । त्यही मागलाई हामीले पनि धर्नामार्फत साथ दिएका हौँ ।’
बिहान १० बजेदेखि १२ बजेसम्म धर्नामा बसेका उनीहरूले 'श्रमको उचित मूल्यांकन गर', 'योग्यता र अनुभवअनुसार पारिश्रमिक कायम गर', 'जोखिम भत्ता र अतिरिक्त भत्ताको तत्काल व्यवस्था गर' लेखिएका प्लेकार्ड देखाए ।
नेपाल नर्सिङ संघको आह्वानमा देशभरका नर्सले न्यूनतम सेवा, सुविधा व्यवस्था गर्नुपर्ने लगायतका माग राखि विरोध प्रदर्शन गर्दै आएका छन् ।
टिप्पणीहरू