सरकारी अस्पतालमा बिरामीलाई ‘सजाय’
सरकारीमा सहज सेवा सुविधा नभएरै महँगो शुल्क तिरेर बिरामी निजी अस्पताल जानुपरेको होइन ? सरकारीकै डाक्टर राखेर निजी हस्पिटल फस्टाउँदै जाँदा सरकारी अस्पतालमा भने बिरामीलाई टिकट लिनै हम्मे छ । चितवनको भरतपुर सरकारी अस्पतालमा एकाबिहानै टिकट लिन उभिएका बिरामीहरुको बिजोग देखियो ।
यो अस्पतालको काउन्टरमा ओपिडी टिकट लिनेहरूको लामो लाइन लाग्ने गरेको छ । मंगलबार बिहान ८ बजेतिर त्यहाँ पुग्दा टिकट लिन उभिएका सेवाग्राहीको लाइन रक्त सञ्चार केन्द्र अगाडि बिलिङ काउन्टरसम्मै पुगेको थियो भने उता टिकट काउन्टरमा पनि घुइँचो कम थिएन । ठूलो संख्यामा सेवाग्राही काउन्टरअघि पनि गुचुमुच्च लाइनमै थिए ।
‘एउटै लाइन गर्ने हो भने चौबीसकोठी पुग्छ’, भरतपुर–११ बाट बिहान सात बजेदेखि आएर लाममा बसेका एक सेवाग्राहीले भने । ‘हामी अहिले त्यहाँ काउन्टरसम्म पुग्नलाई ११ बज्छ । लगभग सबैले उपचार गर्ने मौका पाउँदैनन्, फर्किनुपर्छ’, लाइनमा रहेका अर्का एक जनाले उस्तै गुनासो गरे ।
भरतपुर–२३ जगतपुरबाट बच्चाको छालाको उपचारको लागि टिकट लिन लाइनमा उभिँदै थिए उनी । भन्छन् ‘यहाँ समयमा जँचाउनै पाउँदैन । एउटा बिरामी चेक गर्न आउँदा तीन दिनमा नि नभ्याइनी भो । टाढाबाट आएको हुन्छ । मान्छेलाई प्राइभेट हस्पिटलमा जाँच्न जानको लागि बाध्य बनाएको छ ।’
त्यहीँ पछाडि अर्काे लाइनमा उभिएकी महिलाले भनिन्, ‘हामी सरकारी भनेर आएर धुइरिएका छौं । खुट्टा दुखेर उभिन नि भा'छैन ।’ बीमा भएपनि सात महिनाअघि पाठेघरको अप्रेसन एकलाख रुपैयाँ तिरेर गरेको सुनाउँदै ती बिरामी महिलाले गुनासो पोखिन्, ‘अहिले पित्तथैलीमा पत्थरी देखिएको छ । बीमाबाट उपचार गर्न अर्को वर्ष कात्तिक २४ गते पालो भन्या छ यहाँ । पैसा तिरेर नि गर्न पाइरा'छैन । पैसा तिरेर दशैंतिर पालो पाउँछ कि भनेथे । त्यो पनि भएन ।’
टिकट काउन्टरमा बरु पहिलेकै टोकन सिस्टम राम्रो थियो भनी सेवाग्राहीहरू बताउँछन् । ‘ठाउँ–ठाउँमा गएर बस्न पाउँथ्यो । पालो कुर्न परे नि सुविधा भा'थ्यो । अहिले सजाय दियो’, अर्का एक बिरामीका आफन्त भन्न् । ‘बिहान ५ बजेदेखि ९ बजेसम्म गाह्रो हुन्छ । चारघन्टा उभिनुपर्छ एउटा टिकट लिनलाई भन्ने बुझिएको छ ।'
‘हिजोको लाइन पनि सकिएन रे !’ भनिरहेका अर्का सेवाग्राहीको पनि उस्तै गुनासो थियो, ‘पहिला टोकन सिस्टम थियो, त्यो हुँदा यो सास्तीमा बस्नुपर्थेन । टोकनको पालो कुर्नु भनेको आरामसँग कुथ्र्याे । अहिले सकीनसकी घन्टौं उभिएर पालो कुर्नु परिरहेको छ ।’
छुट्टै लाइन भएपनि ज्येष्ठ नागरिकसमेत बिहान टिकटका लागि लाइनमा उभिइ नै रहेका पाइए । ‘म लाइनमा ऊ ह्वाँ थिएँ', लाइनको केही पछाडितर्फ इसारा गर्दै काउन्टर नजिकै बेन्चमा बसेका एकजना ८२ वर्षीय वृद्धले भने, ‘त्यहाँ उभिन नसकेर यता आएर बसेको । बुढी माउ लिएर आएको । माडीबाट हिजै भरतपुर आएर बस्यौं । हामी आको अहिले बिहान साढे पाँच, छ बजेतिर हो ।’ लाइनमै उभिरहेका अर्का ज्येष्ठ नागरिकले पनि भने, ‘उभिन सकिँदैन, लाइनमा बस्या छौं, के भन्ने ।’
नियमित औषधि खाने दीर्घरोगीहरुलाई औषधि सिफारिसका लागि पनि अर्काे लाइनमा बिहानैदेखि उभिनुपरेको देखियो । बिहान ७ बजे आएर औषधिको लाइनमा उभिरहेको बताउँदै भरतपुर–७ का शालिकराम पोखरेलले भने, ‘ओपिडी टिकटको टोकन सिस्टम बिग्रेको रैछ, मान्छेलाई अप्ठेरो भा’छ, त्यो लेखिदिनू । लाइनमा उभिरहन पनि सकस, धकेला धकेल हुन्छ । त्यही भएर टोकन नै व्यवहारिक छ ।’
भरतपुर अस्पताल बिरामीको चाप र लाइन हेर्दा तत्काल काउन्टर संख्या बढाउनैपर्ने आवश्यकता सबैले बताएपनि अस्पतालको भनाइ अर्कै छ । ‘टोकन सिस्टम हुँदा कतिपयले ३–४ वटा लिइदिने, बेच्दिने अरे टिकट’ भन्ने समेत हिजो सेवाग्राहीमाझबाटै सुनिँदा बिहान टोकन लिएर जाने अनि अरुको पालोमा आएर 'मेरो पालो' भन्दै कराउन आउने प्रवृत्ति खेप्न नसकेको अस्पताल प्रशासनले जनाएको छ ।
यस सम्बन्धमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेल भन्छन्, ‘मान्छे पाँच बजेबाट किन आउनुपर्छ । आठ बजेदेखि १२ बजेसम्म टिकट खुल्छ । मान्छे ११ बजे आयो भने त्यहाँ भीड नै हुन्न । हाम्रो मान्छे सबै पाँच बजे आएर गुँड लाउँछन् त के गर्ने ? जनरल ओपीडी र डेन्टलको टिकट १ बजे पनि खुल्छ । बीमाको पैसा जनरल चेकअप गरेर भएपनि सक्नुपर्छ भन्ने प्रवृत्ति जनतामा रहेसम्म भीडभाड कम हुन्न ।’
उनले थपे, ‘स्वास्थ्य बीमाको जुन अहिले एउटा नीति छ, रिफर पनि गर्न नपर्ने, सीधै केन्द्रीय अस्पताल आउन मिल्ने भन्ने । दिनमा २ हजार जना बिमाका बिरामी आउने ठाउँमा हामी यो भन्दा व्यवस्थित गर्न पनि सक्दैनौं । काउन्टर ६ वटा बनाइसक्यो कतिवटा बनाउने ?‘
ओपिडी टिकटमात्र काटिदिएर भएन नि त, डाक्टर त्यही अनुसार हुनुपर्यो भन्ने भनाइ उनको छ । भने, ‘एउटा डाक्टरले दिनमा कतिजना बिरामी हेर्न सक्छ ? खासमा डब्लुएचओको स्टान्डर्ड अनुसार ४० जनादेखि बिरामी हेर्नै सक्दैन । हाम्रो एकजना डाक्टरले कहिलेकहिले सय जना बिरामी पनि हेर्नुपर्छ । अनि टिकटमात्र काट्देर हुन्छ ? योमात्र समाधान हो त ?’
तर, सरकारीकै डाक्टर राखेर मेडिकल सिटी भन्दै कतिपय मापदण्डसमेत मिचेर निजी अस्पतालहरुको व्यवसाय दिनदिनै बढिरहँदा सरकारीमा धेरै बिरामी आएकाले हेर्न भ्याएन भन्ने अनि नजिकै अर्काे निजीमा गएर तिनै डाक्टरले खुरुखुरु बिरामी हेर्ने ? यो कस्तो काइदा हो ? जबसम्म सरकारीकरण गरिँदैन तबसम्म स्वास्थ्य र शिक्षामा चर्काे विभेद र लुट सदैव भइरहने विषय टड्कारो हुँदाहुँदै आजसम्म राज्य किन संवेदनशील छैन ?
जनस्वास्थ्य कार्यालय चितवनमा भर्खरै नयाँ आएका प्रमुख निर्मल घिमिरेले पनि ‘सरकारीमा बिरामी धेरै भएर जाँच्न भ्याइएन’ भनिरहँदा तिनै डाक्टरहरु निजीमा गएर बिरामी हेरिरहेको अवस्थालाई नियमन गरिनुपर्ने धारणा राखे । तर, भरतपुर अस्पताल संघीय अस्पताल भएको भन्दै जनस्वास्थ्य कार्यालय आफूले हेर्न नमिल्ने बताउँछ । आफ्नै ठाउँमा भएका अस्पतालहरु नियमन नियन्त्रणको सवालमा स्थानीय निकायले प्रदेशलाई र प्रदेशले संघीय सरकारलाई देखाउँदै पन्छिने अवस्था भएपछि संघीय सरकारको औचित्यमा प्रश्न किन नबढोस् ?
जनआस्था अनलाइनमा कात्तिक १५ गते प्रकाशित ‘मेडिकल सिटीमा मापदण्डबिनाका अस्पताल छ्याप्तीछ्याप्ती’ शीर्षकको समाचार रिपोर्टिङको क्रममै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वास्थ्य क्षेत्रका देखिएका समस्या समाधान तथा विकृतिविसंगति नियन्त्रणमा आफू कटिबद्ध भइलाग्ने प्रतिबद्धता पनि जनाएका छन् । यहाँका अस्पतालहरुको मापदण्ड, सेवा, शुल्क एवम् गुणस्तर अवस्था साथै १० प्रतिशत गरीब विपन्न बिरामीलाई निःशुल्क उपचार गनुपर्ने शर्त पालना भए, नभएको समेत जाँचबुझ गरी आवश्यक कारबाही अगाडि बढाउने प्रजिअले बताए छन् ।
यता, भरतपुर अस्पताल प्रमुखको थप भनाइ यस्तो छ, ‘संघीय अस्पताल भनेर मात्र हुन्छ सरकारले । मन्त्रालयले दिनुपर्यो नि त डाक्टर हामीलाई ? बीमा हुन्छ एक अर्बको, पैसा आउँछ ५० करोड । अहिले पनि पोहोरकै हाम्रो ६० करोड रुपैयाँ बिमा बोर्डसँग लिन बाँकी छ।’ मेसु पौडेल भन्छन्, ‘पैसा पनि टाइममा नदिनी, पूरा पनि नदिनी अनि बिरामीमात्र जम्मा पारेर हुन्छ ? ७०–७५ प्रतिशत बिरामी त बीमाकै हुन्छ । बीमाकै बिरामीको पूरा पैसा नपाएपछि हामीले कसरी गर्ने ?’
संघीय अस्पताल भन्दै भरतपुर अस्पताललाई प्रदेश र स्थानीय सरकारबाट पनि केही सहयोग नभइरहेको उनले बताए । टोकनको कुरामा उनले थपे, ‘बीमाको सर्भर स्लो भइदिन्छ । टिकट फटाफट काट्न पाइन्न । ५० रुपैयाँ तिरेर टिकट काट्ने बिरामीलाई पनि बिमाकै बिरामीको लफडाले गर्दा ढिलो भइराछ । त्यही भएर टोकन सिस्टम बन्द गरेको हो ।’
‘स्वास्थ्य बीमाको इन्टरनेट सर्भर नेपालभर एकैचोटि चलाउँदा एकदम स्लो हुन्छ । त्यसले गर्दा बिमाका बिरामीको टिकट ढिलो काटिन्छ । एक मिनेटमा हुने काम ३–४ मिनेट लागेपछि ढिलो हुन्न ?’, उनी प्रतिप्रश्न गर्छन् । समाधानका लागि सर्भरको क्यापिसिटी बढाइनै पर्ने बताउँदै भने, ‘सकिन्न भने किन चलाउने बिमा कार्यक्रम ? यहाँ काउन्टर बढाएरै मात्र चाहिँ समस्या समाधान हुन्न । बिरामीले बिमाको कार्ड दिएपछि बिमा बोर्डको अनलाइनमा देखाउनुपर्यो । कति पैसा बाँकी छ उसको त्यो देखिनुपर्यो, त्यसपछि टिकट काट्ने हो । त्यसमा स्पिडर नभएसम्म काउन्टर थपेर हामीले घटाऊँ लाइन भनेर पनि भाछैन । फेरि रेफर पनि किन हटाको ? पहिले शिवनगर, टाँडी, माडीमै पाउँथ्यो सेवा । उताबाट रेफर लिएरमात्र बिरामी यहाँ आउँथ्यो, त्यो हुँदा अलिकति उतै रोकिन्थ्यो नि त । अहिले त अब कार्ड बोकेर जुन जिल्लाबाट यहाँ आएपनि हुन्छ । झन् बढेन त भीड ?’
यसै सम्बन्धमा बुझ्न स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्ललाई फोन गर्दा सम्पर्क हुन सकेन । दिउँसो उनको मोबाइल स्वीचअफ थियो । बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्री र कार्यकारी निर्देशक डा. रघुराज काफ्लेको सम्पर्क भनी वेबसाइटमा उल्लेखित टेलिफोन नं ०१४१००२२३ मा फोन गर्दा उठेन ।
टिप्पणीहरू