राँगा र भैँसीको मासु बेच्ने कार्यविधि तयार
राँगा र भैँसीको उत्पादन तथा मासु निर्यात बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्यविधि ल्याएको छ ।
मन्त्रालयले ‘मासु निर्यात अभिवृद्धिका लागि राँगा र भैँसी प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको हो । जसअनुसार अब नेपालबाट विभिन्न मुलुकमा व्यवसायिक रुपमा मासु निर्यात गर्न सकिने छ ।
कार्यविधिमा मासुका लागि पाडा खरिद तथा ढुवानी, गोठ निर्माण, घाँसेबाली तथा आहारा व्यवस्थापन, औषधी उपचार, यन्त्र, उपकरण, औजार सहयोग, जैविक सुरक्षा, पशु पहिचान तथा अभिलेखीकरणजस्ता क्रियाकलाप गर्न सकिने उल्लेख छ ।
पाडा खरिद तथा ढुवानीमा प्रस्तावको कुल लागतको अधिकतम ५० प्रतिशतसम्म खर्च गर्न सकिने, उपलब्ध भएसम्म सरकारी तथा निजी स्रोत केन्द्रबाट खरिद गर्नुपर्ने र खरिद गरिएका पाडाको अनिवार्य रुपमा पशु बीमा गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।
साथै, कार्यविधिबमोजिम स्वीकृत भएको प्रस्तावअनुसार क्रियाकलाप सञ्चालन गर्न कुल लागत अनुमानको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने छ ।
टिप्पणीहरू