राती दुर्गाको गिरफ्तारी,बिहानदेखि उच्च साइबर निगरानी

राती दुर्गाको गिरफ्तारी,बिहानदेखि उच्च साइबर निगरानी

दुर्गा प्रसाईं पक्राउ परेपछिको अवस्थालाई ध्यानमा राखेर सरकारले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । प्रसाईं समर्थक समूहले आजैदेखि देशव्यापी आन्दोलन घोषणा गरेपछि राजधानी र सबै जिल्ला प्रशासनले सम्भावित सुरक्षा चुनौतीको आकलन गर्दै निगरानी कडा पारेका छन्।

गृह मन्त्रालयले काठमाडौं उपत्यकादेखि तराईका मुख्य नाका र संवेदनशील स्थलहरूमा ‘र्यापिड रेस्पोन्स’ तयारी बढाउन मातहतलाई निर्देशन दिएको बुझिएको छ । विशेष गरी साइबर निगरानी पनि कडाइ पारिएकोे अधिकारीहरूले बताएका छन्।

हिंसा भड्काउने अभिव्यक्ति दिएबापत प्रसाईं गएराति भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए । उनको गिरफ्तारीमा नागरिक बचाउ दलले प्रधानमन्त्री तथा गृह मन्त्रालयमाथि कडा आरोप लगाएको छ ।  

नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले सरकारले ‘अपहरण शैलीमा गिरफ्तारी’ गरेको जनाउँदै आजैदेखि आन्दोलनमा उत्रिने दाबी गरेका छन् । सुरक्षा अधिकारीहरूका अनुसार हाल स्थिति नियन्त्रणयोग्य रहेकाले भीड व्यवस्थापन,संभावित झडप र गलत सूचनाबाट उत्पन्न तनाव रोक्न विशेष सतर्कता अपनाइएको छ। सरकारले प्रसाईं पक्राउपछिको परिस्थितिलाई सुक्ष्म ढंगले नियालिरहेको बताइन्छ ।

टिप्पणीहरू