मेयर बालेन गायब, शिलान्यासमा पिए सामेल

मेयर बालेन गायब, शिलान्यासमा पिए सामेल

स्वकीय सचिव अर्थात जनप्रतिनिधिको सहयोगी । हाकिमको सहयोगका लागि तलब दिने गरी राखिएको सहयोगी नै स्वकीय सचिव हुन् । उनीहरुले जनप्रतिनिधिको काम गर्ने हो । तर,काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहका स्वकीय सचिव भुपदेव शाहको हैसियत जनताबाट चुनिएर आएका वडाध्यक्षको भन्दा माथि छ । 

निर्माणको शिलान्यासदेखि कार्यक्रमको उद्घाटनसम्म उनको हातबाट हुने गरेको छ । मेयर आफू सहभागी हुनुपर्नेमा उनलाई पठाएर निर्माणको शिलान्यास गराउँछन् । कार्यक्रममा भाषण दिन लगाउँछन् । उनलाई विदेशमा हुने उच्चस्तरीय बैठकहरुमा पनि बालेनले महानगरको प्रतिनिधि बनाएर पठाउने गरेका छन् । जनप्रतिनिधि वा कर्मचारीलाई पठाउन सकिनेमा बालेनको रोजाइमा भुपदेव नै पर्छन् । 

जसका कारण बालेनले चर्को आलोचना पनि खेप्दै आएका छन् । त्यसका बाबजुद पनि भुपदेवमाथि चाहिनेभन्दा बढी उदार हुने क्रम रोकिएको छैन । भद्रा घले स्पोर्टस पार्कको शिलान्यासमा बालेनले आफू नगएर उनलाई पठाएका छन् । महानगरले ‘भद्राकुमारी घले सदन’ भत्काएको ठाउँमा भद्र घले स्पोर्टर्स पार्क निर्माण गर्दैछ । 

महानगर प्रहरी बलले २०८० साउन ४ गते धोबीखोलाको करिडोरस्थित सार्वजनिक जग्गामा रहेको सो सदनमा डोजर चलाएको थियो । उक्त जग्गा खाली रहेकोमा स्पोर्टर्स पार्क निर्माण गर्न लागिएको हो । दुई हजार ८८० वर्गमीटर क्षेत्रफलमा बन्ने पार्कको निर्माणका लागि पिएसबाहेक एक करोड ९० लाख रुपैयाँमा सम्झौता भएको छ । 

गत कात्तिक १८ गते हान्स–चपुर जोइन्ट भेञ्चरसँग सम्झौता गरिएकोमा निर्माणको अवधि २०८३ कात्तिक १८ गतेसम्म छ । उक्त पार्कको केही दिनअघि शिलान्यास गरिएकोमा बालेन गएनन् । उनले आफ्ना स्वकीय भुपदेवलाई पठाएका हुन् ।

टिप्पणीहरू