अशोक राई पनि नेकपामा मिसिन तयार

अशोक राई पनि नेकपामा मिसिन तयार

एक दर्जन बढी वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकीकरण अन्तिम चरणमा पुगेको छ । 

आज पेरिसडाँडामा भएको कार्यदलस्तरीय वार्तामा एकताका लागि सहमति जुटेको नेता प्रकाश ज्वालाले जानकारी दिए । दुवै पार्टीबीच राजनीतिक र सैद्धान्तिक सहमति कायम भैसकेको जनाउँदै उनले भोलि टुंगोमा पुग्ने बताए । 

‘नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीका बिचमा हामीले वार्ता कार्यदलस्तरमा घनिभूत छलफल गर्यौं । हिजो हामीले राजनीतिक र सैद्धान्तिक विषयमा अलि बढी छलफल गरेका थियौँ’, ज्वालाले भने, ‘संगठनात्मक विषयमा समेत छलफल गरेका थियौं भने आज अलि यसलाई निष्कर्षमा पुर्याउने किसिमले छलफल गर्यौं ।’

कार्यदलले सहमतिको खाकासमेत तयार पारेको जानकारी उनले दिए । नेकपाले विचार र  सिद्धान्त मिल्ने सबै समूहसँग एकताका लागि छलफल अघि बढाएको ज्वालाको भनाइ छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर डेढ वर्षअघि गठन भएको जसपामा पार्टी एकतालाई लिएर दुई धार देखिएको छ । अध्यक्ष अशोक र बरिष्ठ नेता राजेन्द्रप्रसाद श्रेष्ठ नेकपामा मिसिन तयार भए पनि नेताहरू मोहमद इश्तियाक राई, प्रदीप यादवलगायत भने मधेशवादी दलसँग एकता गर्नुपर्ने पक्षमा रहेको बताइन्छ ।

टिप्पणीहरू