माइतीघरमा घाइते जेनजी र राजावादीबीच चर्काचर्की
जेनजी प्रदर्शनका घाइते र राजावादीहरुबीच माइतीघरमा चर्काचर्की परेको छ । सरकारले माग सम्बोधन गर्न नसकेको भन्दै धर्नामा बसेका घाइते जेनजी र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानका प्रदर्शनकारीबीच भनाभन भएको हो ।
भदौ २३ र २४ गतेको घटनामा घाइते भएका र सहिद परिवारका पीडितहरुले निशुल्क उपचार, उचित क्षतिपूर्तिलगायतको मागसहित माइतीघरमा निरन्तर धर्ना दिइरहेका छन् । प्रसाई नेतृत्वको समूहले पनि माइतीघरमै पुगेर प्रदर्शन गरेपछि माहोल बिग्रिएको हो । यद्यपि, व्यापक प्रहरी परिचालन भएको कारण कुनै अप्रिय घटना भने घटेन ।
प्रसाई समूहले आजदेखि अनिश्चितकालीन मेची महाकाली आन्दोलनको घोषणा गरेकोमा हिजो साँझ सरकारसँगको वार्तापछि फिर्ता लिएको थियो । यद्यपि, शान्तिपूर्ण आन्दोलन गर्न भने सरकारले नै अनुमति दिएको थियो । सोही अनुसार आज प्रदर्शनको लागि माइतीघर पुगेका राजावादी र घाइते जेनजीबीच सवालजवाफ भएको हो । घाइते जेनजीले अन्यत्रै गएर प्रदर्शन गर्न भनेपछि राजावादीहरु चर्काचर्कीमा उत्रिएका हुन् ।
टिप्पणीहरू