सुधन र सम्राटलाई कारबाही नगरे प्रतिरोधको चेतावनी
आफूलाई जेनजी अगुवा दाबी गर्ने हामी नेपाल एनजिओका संयोजक सुधन गुरुङको दादागिरी बढेको भन्दै नेकपा एमालेनिकट नेसनल भोलिन्टियर्स फोर्सले प्रतिरोधको चेतावनी दिएको छ ।
गुरुङलगायत समूह आज एमाले नेता किसान श्रेष्ठको बारास्थित घरमा पुगेर गुण्डागर्दी शैलीमा परिवारका सदस्य तथा कामदारलाई धम्क्याएकोप्रति फोर्सले आपत्ति जनाएको हो ।
फोर्सले विज्ञप्ति जारी गर्दै उनीमाथि कारबाहीको माग गरेको छ । त्यस्तै, मंसिर ३ गते एमाले महासचिव शंकर पोखरेललगायतका नेता सिमरा जाने क्रममा एयरपोर्टको गेट भत्काउने तथा अराजकता मच्याउने कार्यमा अर्का जेनजी अगुवा सम्राट उपाध्याय संलग्न रहेको फोर्सको ठहर छ ।
सोही घटनामा एमालेका वडाध्यक्ष र राष्ट्रिय युवा संघका नेतालाई समातेर झुट्टा मुद्धा चलाएको तर उनलाई चाँहि कारबाही नगरिएको भन्दै फोर्सले पक्राउ परेका एमाले नेता–कार्यकर्तालाई रिहा गर्न माग गरेको छ । साथै, सुधन गुरुङ र सम्राट उपाध्यायलगायत अराजक झुण्डहरुलाई यथाशीघ्र कारबाही अघि बढाउन र त्यसो नगरिए प्रतिरोधमा उत्रिने फोर्सको चेतावनी छ ।
‘हाम्रो संगठन हामी नेपालका सुधन गुरुङ र सम्राट उपाध्यायलगायत अराजक झुण्डहरुलाई यथाशीघ्र आवश्यक कारबाही अघि बढाउन जोडदार माग गर्दछ र साथै सरकारले उक्त घटनाको संवेदनशीलतालाई नबुझ्ने हो र अपराधीलाई उन्मुक्ति दिने हो भने परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी पनि दिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
टिप्पणीहरू