ओलीलाई सुरक्षा दिने जर्नेलको सरुवा

ओलीलाई सुरक्षा दिने जर्नेलको सरुवा

नेपाली सेनाले आठ जना एक तारे जर्नेल (सहायक रथी) र चार जना महासेनानी (कर्नेल) को सरुवा गरेको छ । त्यसमध्ये तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भदौ २४ गते जेन जी विध्वंशको क्रममा बालुवाटारबाट हेलिकोप्टरमा राखेर चनबन पुर्याएपछि १० दिनसम्म सुरक्षा र खानपानको व्यवस्था मिलाउने ७ बाहिनीपति डा. कमल बानियालाई रणनीतिक अध्ययन तथा योजना निर्देशनालयमा निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ ।

सरुवा भोलिदेखि लागु हुनेछ । मकवानपुरको चित्लाङ्भन्दा दक्षिणतर्फको डाँडोमा रहेको ब्यारेकका बाहिनीपति बानियाले ओली दम्पतिको १० दिन सुरक्षा,भातभान्छा र आवासको व्यवस्था मिलाएका थिए । 

सरुवा सूचीअनुसार नम्बर २८ बाहिनी अड्डाका सहायक रथी डा. रञ्जित थापालाई विपद् व्यवस्थापन निर्देशनालयको निमित्त निर्देशक,नम्बर ५ बाहिनी अड्डाका बालकृष्ण कार्कीलाई भने राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा लगिएको छ । आपूर्ति तथा परिवहन निर्देशनालयको निमित्त निर्देशकको जिम्मेवारी नम्बर १७ बाहिनी अड्डाका किरणराज श्रेष्ठलाई दिइएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका सरोजकुमार अधिकारीलाई नम्बर ५ बाहिनी अड्डामा निमित्त बाहिनीपति बनाइएको छ । 

त्यस्तै नेपाली सैनिक ब्याटल स्कुलका सहायक रथी विक्रम गुरुङ नम्बर ७ बाहिनी अड्डामा निमित्त बाहिनीपति, रणनीतिक अध्ययन तथा योजना निर्देशनालयका मिलन तुलाचन नम्बर २८ बाहिनी अड्डाको निमित्त बाहिनीपति र विपद् व्यवस्थापन निर्देशनालयका पर्वतराज गिरीलाई नम्बर १७ बाहिनी अड्डामा निमित्त बाहिनीपति बनाइएको छ । 

महासेनानीहरुमा नम्बर १३ बाहिनी अड्डाका शरद लामिछानेलाई मध्यपूर्व पृतना हेडक्वार्टर,बलाधिकृत विभागका संजित श्रेष्ठ सिन्यालाई ब्याटल स्कुलको निमित्त शिक्षाधिकृतको जिम्मेवारी दिइएको छ । सरुवाअन्तर्गत नम्बर १३ बाहिनी अड्डाको निमित्त सहायक बाहिनीपतिमा उत्तर पश्चिम पृतना हेडक्वार्टरका लोकेश केसी र आपूर्ति तथा परिवहन निर्देशनालयका निरञ्जन भण्डारीलाई उत्तर पश्चिम पृतना हेडक्वार्टर पुर्याइएको छ । 

एक दर्जन उच्च सैन्य अधिकारीहरुको सरुवाको निर्णय आज भएको हो ।

टिप्पणीहरू