भारतले जति गर्दा पनि पग्लेन ट्रम्पको मन

भारतले जति गर्दा पनि पग्लेन ट्रम्पको मन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले आफूलाई ‘खुशी बनाउन’ केही कदम चालेको उल्लेख गर्दै पूर्ण खुशीका लागि पर्याप्त कदम नचाले भारतीय सामानमा लगाइएको भन्सारलाई अरु बढाउने चेतावनी दिएका छन् । भारतले रुसबाट किन्दै आएको कच्चा तेलको परिमाण घटाएको जनाए पनि अमेरिकाले त्यसलाई पर्याप्त नमानेको अवस्थामा ट्रम्पको पछिल्लो धारणा आएको हो ।

एयर फोर्स वानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले रुस–युक्रेन युद्धलाई आर्थिक रूपमा सहयोग पुग्ने भन्दै भारतले खरिद गर्दै आएको रुसी तेलबारे अमेरिकाको गम्भीर चासो रहेको उल्लेख गरे । उनले भने, ‘आवश्यक परे ट्यारिफ छिट्टै बढाउन सकिन्छ ।’ 

इण्डिया न्युज नेटवर्कका अनुसार ट्रम्पले एकातिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘धेरै राम्रो व्यक्ति’ को संज्ञा पनि दिएका छन् । अर्कोतिर ‘नयाँ दिल्लीले वासिङ्गटनको अपेक्षा नबुझे के परिणाम आउन सक्छ भन्ने कुरो पनि उनले बुझिसकेको’ भन्दै कूटनीतिक भाषामा दबाब दिएका छन् । ट्रम्पका अनुसार भन्सार शुल्क अझै पनि अमेरिकी व्यापार कूटनीतिको प्रमुख हतियार हो ।

यसैबीच, रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहमले अमेरिकाका लागि भारतीय राजदूतसँगको भेटमा भारतले रुसी तेल आयात घटाइसकेको सन्देश ह्वाइट हाउसलाई पठाउन आग्रह गरिएको जानकारी दिएका छन् । हाल भारतीय वस्तुहरूमा अमेरिकाले ५० प्रतिशतसम्म भन्सार शुल्क लगाएको छ ।

टिप्पणीहरू