राहदानीमा आफुखुशी उमेर थपघट, कर्मचारीहरुको साँठगाँठ
इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चुडामणि आपगाँई भ्रष्टाचारमा तानिएका छन् । आर्थिक लेनदेनमा राहदानीमा उमेर थपघट गरेको आरोपमा उनीसहित १० जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो ।
मुद्दा चलाइएकामा तत्कालीन नायव सुब्बा रविनकुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर, कार्यालय सहयोगी जीवनकुमार दाहाल, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृतहरु लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल, राहदानी वाहकहरु विनोद कुँवर, सीमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुंगेल र बलराम महतो छन् ।
अख्तियारका अनुसार कर्मचारीहरुको मिलेमतो र आर्थिक चलखेलमा राहदानी वाहकहरुको उमेर एकदेखि आठ वर्षसम्म घटाएको पाइएको छ । जसमा विनोद र गोविन्दको पाँच वर्ष र बलरामको आठ वर्ष उमेर घटाइँदा सीमान्तको दुई वर्ष बढाएको अख्तियारको ठहर छ । प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरिएको छ ।
टिप्पणीहरू