पत्रकारको उपचारमा आर्थिक अभाव, महासंघको बेवास्ता
आफ्नो जीवनभर सक्रिय पत्रकारिता गरेका ४५ वर्षीय पत्रकार रणध्वज लोहारलाई उपचारका लागि आर्थिक अभाव भएको छ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका दलित समुदायका पत्रकार उनको डेढ महिनादेखि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयुमा उपचार भइरहेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–३, पानवारी घर भएका उनी गत असोज २८ गते साँझ कामबाट घर फर्किँदै थिए । सोही क्रममा उनको मोटरसाइकल दुर्घटनामा परेको हो । क्रिटिकल अवस्थामा अस्पताल पुर्याइएका उनको हालसम्म धरानका पत्रकार, आफन्त र शुभचिन्तकहरुकोे सहयोगमा उपचार भइरहेको छ ।
आईसीयु शुल्क दैनिक ३० हजार रुपैयाँ तिर्नुपर्ने उनकी श्रीमती माया विश्वकर्मा बताउँछिन् । ‘दैनिक ३० हजार रुपैयाँ अस्पतालमा बुझाउनुपर्छ । अहिलेसम्म त साथी र शुभचिन्तकहरुले उपचार खर्च व्यहोरिदिनुभएको छ । पैसा जुट्न छोड्यो भने मैले कसरी उहाँको उपचार गराउने होला’,उनले चिन्ता व्यक्त गर्दै भनिन् ।
रणध्वज र मायाको दुई सन्तान छन् । छोरीको विवाह भइसकेको छ भने छोरा उच्च शिक्षा अध्ययन गर्दैछन् । तर, बुवा घाइते भएपछि उनको पढाइमा बाधा पुगेको छ । यता, पत्रकारहरुको उपचारका लागि सहयोग समिति बनाएर रकम संकलन गर्ने नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र प्रदेश समितिले उनको उपचारमा खासै चासो देखाएको छैन ।
महासंघको कोशी समितिले एकपटक १० हजार र अध्यक्ष भरत खड्काले व्यक्तिगत रुपमा दुई हजार रुपैयाँ सहयोग गरेका थिए । प्रदेश सरकारले एक लाखसम्मको ‘पत्रकार उद्धार कोष’ बनाएतापनि उनको परिवारले रकम पाउन सकेको छैन । रणध्वजकै छिमेकी रहेका एमाले प्रदेश सांसद रमेश बस्नेत भने उनलाई सो रकम दिलाउन कस्सिएर लागिपरेका छन् ।
टिप्पणीहरू