रत्ननगरमा डेरी उद्योग, भरतपुरमा मार्ट
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले भरतपुरमा डेरी मार्ट सञ्चालन गरेको छ । हालसालै भदौबाट रत्ननगर–५ झुवानीमा आफैंले डेरी उद्योग चलाइरहेको संघले यही मंसिर १ गतेदेखि भरतपुर–१०, दूरसञ्चार रोडमा डेरी मार्ट सञ्चालनमा ल्याएकोे बताएको छ । बाहिर बजारमा भन्दा केही सस्तो र सही मूल्यमा संघका गुणस्तरीय उत्पादनहरु मार्टबाट बिक्री भइरहेको जनाउँदै अध्यक्ष किशोर बगालेले भने, ‘पनिर ७०० मा, खुवा पनि किलोको ७०० मा भनेको सुपथ मूल्य होइन ?’
सामान्यतया खुवा, पनिर अन्यत्र प्रतिकेजी रु. ८÷९ सयमा बिक्रीवितरण भइरहेको बताउँदै उनले यो पनि भने कि, ‘लो क्वालिटी ६०० मा नि दिएको होला ¤’ संघको डेरी मार्टमा घिउको थोक मूल्य प्रतिकेजी १००० रुपैयाँ र खुद्रा मूल्य रु. १०५० रहेको छ । ‘दूध तथा दुग्धजन्य पदार्थ सेवन गरौं, स्वस्थ बनौं’ भन्ने नाराका साथ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघद्वारा सञ्चालित चितवन डेरी उद्योगबाट किसान ब्राण्डका दूध, दही, घिउ, पनिर, नौनी लगायतका दुग्धजन्य परिकार उत्पादन गरी बजारमा ल्याइएको छ । शुद्धताका विषयमा कुनै शंका गर्नुपर्ने अवस्था नरहेको हुँदा उपभोक्ताको हितमा रहेको र यसबाट किसानहरु पनि लाभान्वित भएको उनी बताउँछन् ।
नेपालको दुग्ध क्षेत्रमा विगत केही वर्षदेखि भुक्तानीको चर्काे समस्या रहिआएको देखिन्छ । किसानहरुले सहकारी संस्थामार्फत् दूध बेचेको पैसा निजी उद्योगहरु र डिडिसीलेसमेत समयमै भुक्तानी नदिइरहेको किसानहरुको चर्काे गुनासो रहँदै आएको स्थितिमा किसानहरुबाट नियमित दूध खरिद गरी प्रशोधन गरेर बजारमा लैजाने र किसानलाई दूधको भुक्तानी पनि समयमै दिने प्रयास संघबाट भइरहेको अध्यक्षले बताए । डेरी उद्योगबाट अहिले दैनिक रु. एक लाखभन्दा माथिको कारोबार भइरहेको संघले जनाएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघको भरतपुर, गीतानगरमा गाईभैंसीको दाना उद्योग समेत सञ्चालनमा छ ।
चितवनमा पछिल्लो समय हेफर इन्टरनेशनलसँग मिलेर नेपालको दुग्ध क्षेत्रको रुपान्तरणको लागि प्रविधि र असल अभ्यास प्रवद्र्धन परियोजना अघि बढाइएको छ । डिजिटल प्लेटफर्म मार्फत् किसाहरुलाई सही सूचना र जानकारीहरु बाँड्ने उद्देश्यले विभिन्न वटा डेरीहरुमा ५५ इन्चका ४० वटा टिभीसमेत वितरण गरिएको बताइएको छ । बाँझोपन निवारणको कार्यक्रमसमेत सञ्चालन भएको जनाइएको छ । बाँझोपनको समस्या देखिएका पशुको उपचारका लागि किसानका गाईगोठमै गएर चिकित्कीय सेवा दिन थालिएको अध्यक्ष किशोरले बताए ।
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका विशेषज्ञ डा. यज्ञराज पाण्डेसहित पशु चिकित्सकहरुको टोलीले गत मंसिर ७ गते खैरहनीको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था अन्तर्गत ४८ जना किसानहरुको एकसय भन्दा बढी गाईहरुमा बाँझोपन समस्याको औषधिउपचार सेवा प्रदान गरेको टोलीले बताएको छ । त्यसपछि कालिका नगरपालिकास्थित कन्चन डेरीका किसानहरुको पनि एक सय भन्दा बढी नै संख्यामा गाईहरुको बाँझोपन हेरिएको ‘मिल्की वे कार्यक्रम’का पशु चिकित्सक डा. टेकनाथ भट्टराईले बताए ।
टिप्पणीहरू