भित्र ज्योती मगर, बाहिर नेताको लहर
लोकदोहोरी गायिका ज्योती मगर भक्तपुरको गुण्डु पुगेकी छन् । पछिल्लो समय नेकपा (एमाले) मा खुलेकी उनी एकाएक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेकी हुन् ।
रोल्पाका केही नेताहरु अस्ति ओलीलाई भेट्न गुण्डु पुगेका थिए । उनीहरुले घण्टौँसम्म ओलीलाई कुरिरहेको बेलामा थाहा पाए कि ज्योतीले राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेसँगै ओलीलाई भेटिरहेकी छन् । ‘एउटै जिल्लाका हुनुहुँदो रहेछ सबै नेताहरु’, स्रोतले भन्यो, ‘अरुले बाहिरै कुरिरहनुभएको थियो, तर ज्योतीजीले कुर्नु भएन, सिधै भित्र जानुभयो ।’
त्यसको केही समयपछि ज्योती हँसिलो मुद्रामा बाहिर निस्केको बताइएको छ । रोल्पाको नुवागाउँकी उनलाई समानुपातिक तर्फको उम्मेद्वार बनाउन जिल्लाकै नेताहरुले आग्रह गरेको चर्चा छ । गुण्डुमा ओली र ज्योतीबीच के कुरा भयो, त्यो भने खुलेको छैन । तर ज्योती एमालेको आगामी महाधिवेशनबाट औपचारिक रुपमा राजनीतिमा होमिन लागेको धेरैको अनुमान छ ।
गुण्डुमा ओलीलाई घण्टौ कुरेका रोल्पाली नेताहरुले भोलिपल्ट महासचिव शंकर पोखरेललाई समेत भेटेका थिए ।

टिप्पणीहरू