एनटिभीको परीक्षाअघि अन्तरिम आदेश

एनटिभीको परीक्षाअघि अन्तरिम आदेश

सरकारी स्वामित्वको नेपाल टेलिभिजनको विभिन्न पदमा पदपूर्तिका लागि गरिएको विज्ञापनको लिखित परीक्षा स्थगित भएको छ । सर्वोच्च अदालतको आदेशसँगै लिखित परीक्षा स्थगित भएको हो । लोकसेवा आयोगले नेपाल टेलिभिजनमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो । 

टेलिभिजनमा कार्यरत प्रद्युम्न मिश्रले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । गत साउन २० गते दर्ता भएको ०८२–डब्ल्युओ–००८४ नम्बरको मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, लोकसेवा आयोग, सार्वजनिक सेवा प्रशारण, सार्वजनिक सेवा प्रशारणको सञ्चालक समिति र सार्वजनिक सेवा प्रशारण नेपाल टेलिभिजन पदपूर्ति समितिलाई विपक्षी बनाइएको छ । 

पाँचपटक पेशी चढेको मुद्दामा आंशिक अन्तरिम आदेश भएको छ । न्यायाधीश महेश शर्मा पौडेलको इजलासमा परेको मुद्दाको पहिलो पेशीमा कारण देखाउ र छलफलमा बोलाउने आदेश भएको थियो । 

न्यायाधीशद्वय डा.कुमार चुडाल र श्रीकान्त पौडेलको इजलासमा हेर्न नभ्याइनेमा परेकोमा डा.मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले अन्य आदेश सुनाएको हो । यसअघि न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो । 

गत पुस १६ गते न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आंशिक अन्तरिम आदेश जारी गरेको हो । त्योसँगै तत्कालका लागि परीक्षा स्थगित भएको छ ।
 

टिप्पणीहरू