प्रहरी जवानबाट ‘बलात्कृत’ महिलासँग सिंहदरबारमा वार्ता
विवाहको प्रलोभन देखाएर बलात्कार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै पछिल्लो सात महिनादेखि प्रदर्शनरत गर्भवती महिला सराकुमारी शाहीसँग सरकारले वार्ता अगाडि बढाएको छ । सिंहदरबारस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मन्त्री श्रद्धा श्रेष्ठको अध्यक्षतामा उनीसँग वार्ता जारी छ ।
बैठकमा सरकारको तर्फबाट सचिव लक्ष्मीकुमारी बस्नेत, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापा, राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुली सहभागी छन् । त्यसैगरी, पीडित शाहीसहित झण्डै एक दर्जनको बैठकमा उपस्थिति छ ।
विवाह गर्छु भनेर प्रहरी जवान भुपेन्द्र सिंह ठगुन्नाले जबरजस्ती करणी गरेको आरोप लगाउँदै सरा सात महिनादेखि राजधानीको माइतीघर मण्डलामा प्रदर्शनरत छिन् । आफूमाथि बलात्कार गर्ने भुपेन्द्रलाई अदालतले जोगाउन खोजेको उनको आरोप छ । जाजरकोटको जुनिचाँदी गाउँपालिका–९ घर भएकी सरा पढाइको सिलसिलामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ मा बसोबास गर्दै आएकी थिइन् ।
सुर्खेत बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत उनको टिकटकमार्फत भुपेन्द्रसँग चिनजान भएको हो । त्यतिबेला भुपेन्द्रको ‘पोस्टिङ्ग’ सुर्खेतमै भएकाले उनीहरुको भौतिकरुपमा पनि भेटघाट हुन थाल्यो । प्रेम सम्बन्धमा रहेका दुबै ‘लिभिङ टुगेदर’ मा बसे । पछि भुपेन्द्र सरुवा भएर सर्वोच्च आए । सराकुमारी पनि निम्न माध्यमिक तहसम्म पढाउने शिक्षक लाइसेन्सको परीक्षा दिन काठमाडौं आइन् ।
सराकुमारीका अनुसार त्यसपछि उनी भुपेन्द्रकै कोठामा बसिन् । त्यसक्रममा भूपेन्द्रले ‘विवाह गर्छु’ भनेर पटक–पटक शारीरिक सम्बन्ध राखेको र आफू गर्भवती भएको उनको भनाइ छ । तर, त्यसपछि उनीहरुको सम्बन्ध राम्रो हुन सकेन । भुपेन्द्रको कुटाइबाट आफ्नो गर्भ खेर गएको सराकुमारीको आरोप छ ।
आफूसँग शारीरिक सम्बन्ध राखेर छोडिदिएपछि सराकुमारीले सुर्खेत जिल्ला अदालतमा ‘बलात्कार’ मुद्दा दायर गरेकी थिइन् । न्यायाधीश मनोजकुमार श्रेष्ठको इजलासले भुपेन्द्रलाई धरौटीमा रिहा गर्न आदेश दियो । जिल्लाको आदेशविरुद्ध उनले उच्च अदालत, पाटनमा रिट दायर गरिन् । उच्चले पनि भुपेन्द्रलाई पुर्पक्षका लागि थुनामा पठाउन नमिल्ने भनि मिसिल सर्वोच्च पठाएको हो ।
उनले ‘प्रेम सम्बन्धमा पारी विवाहको आश्वासन दिई बलात्कार गर्ने निलम्बित प्रहरी जवान भुपेन्द्र सिंह ठगुन्नालाई कारबाही गर’,‘पटकपटक भ्रुण हत्या गराई म मेरो बच्चामाथि अन्याय गर्ने अपराधीलाई कानुनबमोजिम सजाय गर’,‘अदालतको इजलासमा नै म पीडितमाथि अपशब्द प्रयोग र धम्की दिने सुर्खेत जिल्ला अदालतको न्यायाधीश मनोजकुमार श्रेष्ठलाई अनुसन्धानगरी कारबाही गर’,लगायतका माग राखेकी छिन् ।
टिप्पणीहरू