सय बर्ष नपुग्दासम्म टिकट बटुलेको बटुल्यै

सय बर्ष नपुग्दासम्म टिकट बटुलेको बटुल्यै

पटक-पटक एउटै व्यक्ति पार्टी र राजकीय सत्तामा रहिरहने प्रवृत्तिबाट आजित जेन-जी पुस्ताको प्रदर्शनले यतिबेला राजनीतिक दलहरूमा तरंग ल्याएको छ । ठूला भनिएका पार्टीमै नेतृत्व फेर्नुपर्ने बहस जोडदार रूपमा चलिरहेको छ । तर, उमेरले ९४ कटिसकेका मधेशका एकजना बयोबृद्ध नेतामा भने शक्तिको आसक्तिले सीमा नाघेको छ । 

दशकौंदेखि मधेशको नाममा सत्ता र शक्ति कब्जा गरेका महन्थ ठाकुरको प्रसंग हो यो । शारीरिक रुपले कमजोर, स्मरण शक्ति गुमाएका र बुढ्यौलीले थलिएका यिनी यतिबेला राष्ट्रिय सभामा जान कस्सिएको चर्चा छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रमुख पार्टीहरूले भागबण्डा टुंग्याएसँगै जसपाले पाएको एउटा सिटमा उनले आफ्नो हात जगन्नाथ गर्न लागेका हुन् । भोलि उम्मेदवारी दर्ताको मिति तोकिएकोमा उनी आजै जनकपुर पुगिसकेका छन् ।   

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ सँधै सत्ता र शक्तिको वरिपरि रहिरहने मधेसवादी नेतामा पर्छन् । नेपाली काँग्रेसमा लागेर थुप्रै अवसर लिएपछि मधेस आन्दोलनमा लागेका यिनले आफ्नै नेतृत्वमा क्षेत्रीय दल खोलेका थिए । 

जीवनको उत्तरार्द्धमा पनि नेतृत्व नछोडेका उनी केही वर्षदेखि लोसपाको अध्यक्ष छन् । हालै उपेन्द्र यादवसँग पार्टी एकताको सम्झौता गरे पनि चुनावपछि के हुने हो थाहा छैन ।   

२०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार भै महोत्तरी-३ बाट सांसद जितेका उनी त्यसअघि सर्लाहीबाट बारम्बार पराजित भए । महोत्तरीमा ठाकुर आएपछि नै भोट किनबेच हुन थालेको आरोप लाग्ने गरेको छ । मतदाता रिझाउनका लागि उनले गाउँ टोलमा नगद बाँडेको भन्नेहरू धेरै छन् । 

गिरिजाप्रसाद कोइरालादेखि कृष्णप्रसाद भट्टराई हुँदै शेरबहादुर देउवासम्म तथा पूर्वपञ्च सूर्यबहादुर थापाको सरकारमा गएका यिनले अवसर छोप्न निकै चतुर्याई गर्थे । कोइराला परिवारलाई रिझाएर २०४७ सालको आम निर्वाचनपछि दमननाथ ढुंगाना सभामुख भएको बेला उपसभामुख बनेका थिए । 

तर, संकिर्ण जातिगत सोचबाट ग्रस्त उनले मैथिली बाहुन,त्यसमा पनि काठमाडौंमा थोरै सरकारी स्थानमा मौका पाएकाहरूको घेरामा रमाउने यिनी मधेशी जनताको समस्याप्रति भने बेखबर रहे । आफ्नो जातीय-गोत्रीय समुदायबाहेक अन्य मधेशीसँग बेमतलवी रहेको आरोप पनि उनीमाथि छ । 

जतिबेला गजेन्द्रनारायण सिंह नेपाल सद्भावना पार्टी गठन गरेर मधेशको हक र न्यायका लागि लड्दै थिए,त्यतिबेला ठाकुर भने मधेशीको नाममा नेपाली कांग्रेसबाट सत्तामा रजाईं गरिरहेका थिए । संविधान जारी भएपछिको पहिलो आम निर्वाचनमा उनले आफ्नो घोषणा पत्रमै महिलालाई सुन बाँड्ने विवादास्पद कुरा लेखे । गत निर्वाचनमा 'अन्तिम मौका’ भन्दै उम्मेदवार बनेका उनले भोट किनेर जितेको स्थानीय बताउँछन् । 

परिवारवादबाट ग्रस्त रहेको आरोप खेपिरहेका ठाकुर चुनाव हारे पनि पहिलो संविधानसभा निर्वाचनमा मनोनित कोटाबाट आफैँ सभासद भैछाडे । तमलोपाबाट चुनाव हारेपछि उनलाई सरकारको सिफारिसमा सभासद बनाइएको थियो । 

दोस्रो संविधानसभामा पनि ठाकुर पराजित भए । उनीमाथि छोरी मिनाक्षी झालाई भारतीय दूतावासको सहयोगमा डाक्टरी पढाएको आरोप छ । हाल छोरी र सम्धीलाई आफ्नो ठाउँमा उभ्याउन कसरत गरिरहेको लोसपाका नेताहरू बताउँछन् । 

शरतसिंह भण्डारी श्रममन्त्री हुँदा छोरी मिनाक्षीलाई वैदेशिक रोजगार बोर्डको सचिवालय सदस्य बनाउन सफल भए । गत चुनावमा उनले निमुखा मधेशी महिलाका लागि छुट्याईएको समानुपातिक कोटामा छोरीलाई राखेका थिए । जसका कारण असन्तुष्टि बढ्दा लोसपा राष्ट्रिय दल बन्नै सकेन । यसपाली निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूची गोप्य राखेर छलफल हुनै नदिएको अवस्था छ ।   

आफू सभासद् बनेझैं सम्धी उमाकान्त झालाई खिलराज रेग्मीको चुनावी सरकारमा मन्त्री दिलाएका थिए, त्यो पनि तीन मन्त्रालयको । यसैगरी, साधारण लेखपढ गर्न पनि नजानेकी सम्धिनी इन्द्रा झालाई दोस्रो संविधानसभामा पार्टीको समानुपातिक कोटाबाट सांसद् बनाएर छोरीको विवाहको दाइजो दिएका हुन् ।

टिप्पणीहरू