मरेको मान्छेको नाममा हस्ताक्षर, अरु खोतल्दै संस्थापन पक्षधर
नेपाली काँग्रेसमा नियमित र विशेष महाधिवेशन पक्षधरहरूबीच कित्ताकाट भइरहेको बेला एउटा हस्ताक्षरले किचलो थप चर्किएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय समितिमा पेश गरेको प्रतिनिधिहरूको हस्ताक्षरमा मरिसकेका मान्छेको समेत सही भएको पाइएपछि विवाद थपिएको हो ।
संस्थापन इतर खेमाले असोज २८ गते विशेष महाधिवेशनको पक्षमा रहेका ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर संकलन गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो । त्यसमा सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका–५ घर भएका महाधिवेशन प्रतिनिधि उपेन्द्र रामको नाममा फर्जि हस्ताक्षर प्रयोग गरिएको संस्थापन पक्षको आरोप छ ।
उपेन्द्रका छोरा चन्दनले समेत केन्द्रीय कार्यालायलाई पत्र लेख्दै २४ गते निधन भइसकेको जानकारी गराएका छन् । ‘बुबाको स्वर्गवास भइसकेको छ, बुबाको नाममा फर्जि साइन गरिएको छ’, उनले भनेका छन्, ‘हाम्रो परिवार नियमित महाधिवेशनकै पक्षमा छौँ ।’
यसरी विशेष महाधिवेशन पक्षधरले बुझाएको हस्ताक्षरमा मृतक प्रतिनिधिको हस्ताक्षर पनि देखिएपछि संस्थापन पक्षले अन्य हस्ताक्षरमाथि पनि प्रश्न उठाएको छ ।
टिप्पणीहरू