विशेष महाधिवेशनले पार्टी फुट्ने डर
नेपाली काँग्रेसको संस्थापन समूहका पूर्वमन्त्री,पार्टीका नेता एवं केन्द्रीय सदस्यहरुले विशेष महाधिवेशन रोक्न आग्रह गरेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित आनन्दभूमि इभेण्टमा भेला राख्दै उनीहरुले पार्टी विभाजन हुन नदिन महाधिवेशन रोक्न भनेका हुन् । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासहितले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् ।
त्यसले पार्टी फुटतर्फ धकेलिएको संस्थापन पक्षका नेताहरुको ठहर छ । काँग्रेस फुट्दा लोकतन्त्र कमजोर हुने उल्लेख गर्दै उनीहरुले पार्टीलाई कमजोर बनाउने तत्वहरु सक्रिय भएको निचोड निकालेका छन् । एक केन्द्रीय सदस्यले भने,‘जेनजी आन्दोलनपछि पार्टी कमजोर बनाउनेहरु सक्रिय भएका छन् । काँग्रेस फुट्दा लोकतन्त्रको भविष्य नै संकटमा धकेलिन्छ । जुनसुकै उपाय निकालेर भएपनि विभाजन रोक्नुपर्छ भन्ने सबैको मत छ ।’
पार्टी विभाजन रोक्न देशभरका नेता–कार्यकर्तालाई आह्वान गर्ने निर्णय भएको उनले जानकारी दिए । त्यसका लागि पुस २७ गते युवा तथा जिल्ला सभापतिहरुको भेला डाकिएको छ । छलफलमा केन्द्रीय सदस्यहरु कृष्ण सिटौला,बालकृष्ण खाँण,एनपी साउद, वीरबहादुर बलायर,शिव हुमागाईँ,गुरु बराल,जीतजंग बस्नेत,किरण पौडेल, लक्ष्मी खतिवडा,उर्मिला थपलिया,गंगा अवाल,मदनकृष्ण श्रेष्ठ,गणेश लामालगायतको उपस्थिति थियो ।
टिप्पणीहरू